तराईमा ह्वात्तै बढ्यो चिसो


प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार

महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ ।

गत आइतबारयता बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मङ्सिर निगल्दो नै जाडो निकै बढेको हो । महोत्तरीको पूर्वपश्चिम राजमार्ग वरपर तुसारोसँगै सिरेटो चलेको छ भने मध्य र दक्षिणी क्षेत्रमा भने बाक्लो हुस्सुले ढाक्दै आएको छ ।

तुसारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारु चहलपहल स्वात्तै घटेको छ । एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषिकार्य पनि प्रभावित भएका छन् । लगातारको चिसो सिरेटोले घरपालुवा पशुवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको गुनासो छ ।

“खै उमेरले ६० वर्ष टेक्न लागियो, मङ्सिरमै यसरी लगलगी कमाउने जाडो त त्यति भोगेको सम्झनै छैन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ५८ वर्षीय किसान सत्यनारायण यादवले भने, “यसपालि कोरोना कहरले जाडो चाँडै बढाएको त हैन ?” बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको भङ्गाहा–४ कै पलारको दलित बस्तीका ७० वर्षीय चौठी बाँतर बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरूको स्याहारसम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् ।

यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन् । आफ्नै घर वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विधानचन्द्र झाले बताए । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा झाको भनाइ छ ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुढा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने आकलनले गरिब बस्तीमा चिन्ता बढेको छ । गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आ–आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् ।

यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com