अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन


प्रकाशित मिति : मंसिर ८, २०७७ सोमबार

सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उनलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा नभए पनि ऋण सबैले पत्याउँथे । बागलुङ नगरपालिका–३ का गणेश शर्मालाई पनि अमेरिकाको भूत चढ्यो र लागे अमेरिकाको यात्रामा तर दलालमार्फत अमेरिका हिडेका उनी नत अमेरिका पुगे नत ऋणधन गरेको पैसानै जोगियो । एक महिना लामो परिवारको सम्पर्क बाहिर बसेर रु २० लाख सके तर अमेरिका पुगेनन् ।

एक वर्षको राजाधानी बसाइलाई टुङ्गो लगाएर गाउँ फर्केका गणेशले अहिले भाडाको जग्गामा भविष्य खोज्दै छन् । बागलुङ नगरपालिका–३ हाडेपाखामा उनका बाबु शिवप्रसाद शर्माले गर्दै आएको परम्परागत पशुपालन व्यवसाय थियो । व्यापारका लागि होइन घरमा दूधघ्युको खाँचो टार्न बाबुले पालेका गाईभैँसीको सङ्ख्या गणेशले बढाएका छन् ।

अमेरिकाको सपना चकनाचुर भएपछि आफ्नै माटोमा सुन्दर भविष्य खोज्न थालेका गणेशको कामका लागि परिवारको राम्रो साथ छ । हाडेपाखामा सात वटा भैँसी र तीन वटा दुधालु गाई भएको फार्म छ । ‘शिव शक्ति गाईभैँसी फार्म’ नाम दिइएको उनको फार्ममा बाबु शिवप्रसाद शर्मा, उनी आफैँ, आमा गीता र श्रीमती उषा उत्तिकै खट्छन् ।

विदेश जाने धुनमा लागेको जत्तिको लगानी पनि उनलाई फार्मका लागि लगाउनुपरेको छैन । रु १५ लाख  लगानीमा शुरु भएको उनको फार्मले अहिले दिनमा रु छदेखि सात हजार कमाउँछ । “लिमे जातको स्थानीय भैँसी र मुर्रा भैँसीको क्रस पालेका छौँ”, गणेश भन्छन्, “उन्नत जातका गाई पनि सँगै छन्, राम्रो आम्दानी हुँदोरहेछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्ना बाबुले पहिलेदेखि गर्दै आएको व्यवसाय सम्हाल्न सकेको भए आफू विदेशको लहडमा लाग्नु नपर्ने उनले बल्ल बुझेको बताए । “बाबाले विसं २०६७ बाट नै भैँसी पाल्न थालेका थिए, मेरो मन अमेरिकामा थियो, बाटोमा दुःख पाएपछि बल्ल चेत आयो”, शर्माले भने, “कृषि विकास बैंकको जागिरे जीवन सकेर भैँसी पाल्नुभएका बाबालाई सघाएको भए धेरै माथि पुगिन्थ्यो ।”

उनको फार्ममा अहिले दैनिक ६० देखि ७० लिटर दूध उत्पादन हुन्छ । बागलुङ बजारको छेवैमा रहेकाले दूधको लागि बजारको समस्या छैन । “साँझ–बिहान भाँडा बोकेर ग्राहक गोठमा नै आउँछन्”, उनले भने, “शुद्ध दूध खोज्ने धेरै छन् ।”

मानाको मापनमा बिक्री हुने दूध प्रतिमाना रु ६० बिक्री हुने गरेको छ । गणेशले गाईभैँसीको पालनलाई थप व्यावसायिक र उत्पादनमुखी बनाउने योजना सुनाए । “पच्चीस वटा भैँसी पुर्याउने लक्ष्य छ, रु २० लाख थप लगानी गर्ने हो”, उनले भने, “लगानीमा यसो सघाउने निकाय पाए सहज हुन्थ्यो ।”

हाडेपाखामा वार्षिक रु ५० हजार भाडामा लिइएको चार रोपनी जग्गामा उनको फार्म छ । गोठ बनाएर बाँकी रहेको जग्गामा परिवारले तरकारी खेतीसमेत गर्दै आएको छ । “दूधको मात्रै आम्दानी हेरेर बसेर पुग्दैन, तरकारी फलाएर मुनाफा लिनुपर्ने छ”, उनले भने । घाँसका लागि पुख्र्यौली पाखो र केही जग्गा भाडामा लिइएको छ । बर्खामा घाँस काट्नका लागि ज्यालादारीका मजदुरलाई लगाउँछन् । हिउँदमा भने लाखौँ खर्चेर परालको जोहो गर्ने गरेको उनले सुनाए।

“अब परिवारमा मात्रै होइन थप रोजगारी सिर्जना हुने गरी फार्म विस्तार गर्दैछु”, उनले भने, “उत्पादन बढेपछि मुनाफा बढ्नेमा ढुक्क छु ।” विदेशको लहडमा लागेको ऋणसमेत दूध बेचेर चुक्ता गर्ने योजना रहेको उनले सुनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com