प्रधानमन्त्री ओलीले राष्ट्रपतिको हातबाट लगाए दसैँको टीका


प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् । प्रधानमन्त्री ओली सोमबार दिउँसो दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्री ओलीले टीका र जमराको माला ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउन पाएनन् । उनले बालुवाटारमा पत्नी राधिका शाक्यलाई मात्र दसैँको टीका लगाइदिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण लगाएकी छिन् । राष्ट्रपति भण्डारीले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् ।

राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईका अनुसार राष्ट्रपति कार्यालय, शीतल निवासमा आमा मिथिला पाण्डेका हातबाट पनि विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन् ।

कोरोना संक्रमणको जोखिमका कारण यो पटक अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने स्थगित गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com