बेड अभावले नौ सय बढी संक्रमित घरमै : ४१ जिल्लामा ‘लकडाउन’, नौ जिल्ला रेडजोनमा


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौ उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ । उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएकोे हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौँ उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा कोरोना पुुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमले यही अवस्थाले उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्नेछ भन्दै सचेत हुन आग्रह समेत गरेका छन् । राजधानी काठमाडौँसँगै देशभर कोरोना सङ्क्रमण दिनहुुँ बढ्दै गएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर परीक्षण भएको यो सङ्ख्या हाल सम्मकै धेरै हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पर्सामा ४७ वर्षीय पुरुष र मोरङकी ५० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो थप आइतवार साझ विरगंज र पाटनमा उपचारको क्रममा थप २ जनाको मृत्यु भएको छ । योसहित हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ ।

४१ जिल्लामा ‘लकडाउन’ नौ जिल्ला रेडजोनमा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि अधिकांश जिल्ला फेरि लकडाउनतर्फ नै फर्किएका छन् । कतै निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका व्यवसायमा रोक लगाएका छन् । त्यसको स्वरूप भने लकडाउनकै जस्तो छ ।

आइतबारसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् । अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन् ।

पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ । ग्रामीण क्षेत्रमा केही खुकुलो भए पनि ती जिल्लाका सहरी क्षेत्र भने बन्द रहेको मन्त्रालयले जनाएको छ । नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरि नै अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ ।

त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन छ ।

‘रेडजोन’मा भए पनि उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । तर, विभिन्न सेवा बन्द गरिएका छन् । मध्यपुर ठिमी नगरपालिकाले लकडाउन नै लागू गरेको छ । कागेश्वरी मनहराले पनि अत्यावश्यकबाहेकको व्यवसाय बन्द गराएको छ । उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । त्यस्तै रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । अटेर गर्नेहरूलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

सरकारले लकडाउन हटाएपछि संक्रमण धेरै देखिएका जिल्लामा निषेधाज्ञामार्फत लकडाउन लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । कतिपय स्थानीय तहले जिल्ला प्रशासनसँग समन्वय गरी आफ्नो क्षेत्रमा लकडाउन लागू गरेका छन् ।

रेडजोनमा रहेका जिल्लाहरु

सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’मा राखेको छ । हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’मा छन् । यीमध्ये सबैभन्दा धेरै काठमाडौंमा एक हजार चार सय २९ र पर्सामा एक हजार ८४ सक्रिय संक्रमित छन् ।

हाल ७२ जिल्लामा संक्रमण देखिएको छ । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने संक्रमितको संख्या शून्य छ ।

वृद्धवृद्धा धेरै संक्रमित भएका जिल्ला

काठमाडौं, ललितपुर, ,भक्तपुर, पर्सा, रहेका छन् भने उपत्यकामा देखिएका कोरोना संक्रमितमध्ये १४ प्रतिशत वृद्धवृद्धा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौं उपत्यकमा एक हजार नौ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये दुई सय ८० अर्थात् १४ प्रतिशत वृद्धवृद्धा रहेका छन् । देशका अन्य जिल्लाको तुलनामा यो धेरै हो । पछिल्लो एक महिनामा ठूलो संख्यामा उपत्यकामा वृद्धवृद्धा संक्रमित हुनुले घरघरमा कोरोना पुगेको चिकित्सकहरूको अनुमान छ ।

देशभर पनि २६ हजार ६ सय ६० संक्रमितमध्ये दुई हजार एक सय ६९ जना अर्थात् आठ प्रतिशत वृद्धवृद्धा छन् । देशभर एक सय चारजनाको र उपत्यकामा नौजनाको मृत्यु भएको छ । उपत्यकामा मृत्यु भएका अधिकांश ५० वर्षभन्दा माथिका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार तराई–मधेसका पर्सा, महोत्तरीमा पनि वृद्धवृद्धामा संक्रमण केही बढी देखिएको छ । ती जिल्लामा लामो समयदेखि संक्रमण देखिएकाले चिकित्सकहरूले त्यसलाई ठूलो विषय मानेका छैनन् । तर, उपत्यकामा एक महिनायता बढेको संक्रमण सात प्रतिशत वृद्धवृद्धामा फैलिनुलाई स्वास्थ्य संकटका रूपमा चिकित्सकले हेरेका छन् ।

उपत्यकामा २० प्रतिशत लक्षण भएका संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पुष्टि भएका कोरोना संक्रमितमा धमाधम लक्षण लेखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा पुष्टि भएका एक हजार नौ सय ६७ संक्रमितमध्ये २० प्रतिशतलाई कडा खालको लक्षण देखिएको छ ।

लक्षण भएपछि बेड अभावले गर्दा झन्डै नौ सयभन्दा बढी संक्रमित घरमा बसेका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा मात्रै एक सय ७२ जना संक्रमित थपिएका छन् । त्यस्तै, देशभर ६ सय ४१ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ भने १७ हजार तीन सय ३५ जना निको भएका छन् ।

घरबाहिर ननिस्कन आग्रह

यसैबीच काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाका विभिन्न वडामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । वडा नं. ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठका अनुसार शनिबारसम्म ३१ जनामा सङ्क्रमण देखिएको र अन्य केहीको कन्ट्याक टेसिङको नतिजा आउन बाँकी रहेको छ ।

यसैबीच नगरप्रमुख रामेश्वर बोहराले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र बाहिर आउनैपर्दा माक्स लगाएर मात्रै हिँड्न नगरवासीमा आग्रह गरेका छन् ।

त्यसैगरी काठमाडौँ महानगर वडा नं. ३२ कोटेश्वर क्षेत्रमा हालसम्म ५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो पटक सहयोगी नगरमा दुई जना कोरोना सङ्क्रमितको सङ्ख्या थपिएपछि वडामा सङ्क्रमितको सङ्ख्या ५५ पुगेको हो । यीमध्ये चार जना सङ्क्रमणमुक्त भएका छन् भने ५१ जना उपचाररत रहेको कार्यपालिका सदस्य हीरादेवी पोखरेलले बताइन ।

नेपालपेजबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com