स्कुटर सिक्नेतर्फ महिलाको बढ्दो आकर्षण
प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार
सहजताका लागि आजभोलि निजी सवारी साधन अनिवार्य जस्तै बनिसक्यो । कोभिड– १९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) पछि त यसको महत्व झन बढ्दो छ । प्रायः कामकाजमा व्यस्त देखिने महिला बन्दाबन्दीपछि ड्राइभिङ सेन्टरमा बढी व्यस्त देखिन थालेका छन् । विशेष गरी ड्राइभिङ सेन्टरमा स्कुटर सिक्न बढी महिलाको चाप देखिन थालेको हो ।
वनस्थलीकी ३५ वर्षीया सीता परियारले स्कुटर सिक्न थालेको लगभग एक महिना हुन लाग्यो । अन्य समय सिलाइबुनाइमा व्यस्त रहने उनी यो समय स्कुटर सिक्ने महत्वपूर्ण समय रहेको बताउँछिन् । “स्कुटर सिक्नु अहिलेको अनिवार्य आवश्यकता जस्तै बनिसक्यो”, उनी भन्छिन्, “काठमाडौँको ट्राफिक जाम र सार्वजनिक सवारी साधनका कारण समय बर्बाद हुन्छ ।” आवतजावतको सहजता अहिलेको मुख्य प्राथमिकता रहेको उनको दाबी छ । उनी जस्तै खरिबोटकी २३ वर्षीया उषा गुरुङले पनि स्कुटर सिक्न थालेको २० दिनभयो । बन्दाबन्दी अघि पढाइमा व्यस्त रहने उनी परिवारको आग्रह बमोजिम सिक्न शुरु गरेको बताउँछिन् । उनी भन्छिन् “सामान्य अवस्थामा सिकाइको मूल्य निकै उच्च थियो, अहिले झण्डै आधा मूल्य घटेको छ ।” सस्तो मूल्यमा सिक्न पाउने भएपछि आफूलाई यो समय प्रभावकारी लागेको उनको भनाइ छ ।
“४५ दिने ड्राइभिङ क्लासको २० दिन नाघ्यो”, उषा भन्छिन्, “कहिले क्लास सकिएला र ट्रायल दिएर लाइसेन्स लिउँ जस्तो भएको छ ।” “शुरुमा हात खुट्टा काँप्थ्यो । अहिले त राम्ररी चलाउन सक्छु”, उनी भन्छिन् । रोजगारीमा जाँदा पहिलो प्रश्न ‘स्कुटर चलाउन आउँछ ?’ भन्ने भएपछि पनि रोजगारीकै लागि पनि सिक्नु पर्ने बाध्यता रहेको उनी प्रष्ट्याउँछिन् । कोहीले आवतजावतमा सहजताकै लागि स्कुटर सिक्ने भए पनि कसैले भने सोखकै रुपमा स्कुटर सिक्ने गरेको पाइन्छ । आफ्ना सबै साथी स्कुटर चलाएर हिँड्दा अफ्ठेरो महसुस हुने हुँदा उनीहरुका अगाडि आफूलाई बराबर देखाउन सिक्न थालेको त्यहाँकी अर्की स्थानीयवासी ममता तामाङ बताउँछिन्। उनले भनिन्, “इज्जत धान्नकै लागि भए पनि स्कुटर अहिले महिलाको अनिवार्य आवश्यकता नै बनिसकेको छ ।”
गृहिणीलाईसमेत स्कुटर सिक्नु आवश्यक रहेको उनी बताउँछिन् । बन्दाबन्दी केही खुकुलो भएर काठमाडौँका ड्राइभिङ सेन्टर खुल्न थालेसँगै स्कुटर सिक्ने महिलाको सङ्ख्यामा पनि दोब्बर वृद्धि हुन थालेको छ । बन्दाबन्दीपछि शूल्कमा आएको गिरावटका कारण सिक्नेको सङ्ख्यामा गिरावट आएको सेन्टरका सञ्चालक बताउँछन् । उपत्यकामा हाल सुमन ड्राइभिङ सेन्टर, बुढाथोकी ड्राइभिङ सेन्टर, अधिकारी मोटर ड्राइभिङ सेन्टर, सुजुकी ड्राइभिङ स्कुल, विश्वकार्मा मोटर ड्राइभिङ सेन्टर, दूधकुण्ड ड्राइभिङ सेन्टर, काठमाडौँ, ड्राइभिङ सेन्टर, द हिमालयन रिलायन्ट ड्राइभिङ सेन्टरलगायत सञ्चालित छन् ।
सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै जोखिम मोलेरै भए पनि सिकाउने काम भइरहेको हिमालयन रिलायन्ट ड्राइभिङ सेन्टरका सञ्चालक राजेन्द्र थापा बताउँछन् । उनी भन्छिन्, “सिकाउने काम नै नगरे ग्राउण्डको भाडा कसरी तिर्नु ?” यस्तो समय व्यवसायीकतालाई पनि ध्यानमा राख्नुपर्ने उनको तर्क छ । महिलाहरूको आत्मविश्वास देखेर आफू खुसी भएको उनी बताउँछन् । “हिजोआज स्कुटर सिक्ने महिला बढी आउँछन्”, उनी भन्छन्, “स्कुटर चलाउने पेसाप्रति महिला आकर्षित बन्दै गएका हुन् ।”
उक्त ड्राइभिङ सेन्टरमा पहिले दैनिक एघार जना स्कुटर सिक्न आउने गर्दथे भने हाल २२ जनाभन्दा बढी आउने गरेका छन् । जसमा किशोरीदेखि अधबैंसे महिलासमेत आउने गरेको थापा बताउँछन् । सिक्न आउनेको सङ्ख्या बढ्दै गएपछि कर्मचारी पनि थपेको उनी बताउँछन् । रासस





