नागरिकता वितरण समारोहहरु अमेरिकाको प्राथमिकतामा, जुनमामात्र साढे ६४ हजारलाई नागरिकता


प्रकाशित मिति : १८ असार २०७७, बिहिबार

अमेरिकी सरकारको युएससीआईएसले नागरिकता वितरण समारोहहरुलाई उच्च प्राथमिकतामा राखेको छ । कोरोनाको महामारीका कारण मार्च महिनाको दोश्रो सातापछि स्थगित भएका नागरिकता वितरण समारोहहरु जुनको पहिलोसाताबाट सुचारु गरिएको थियो ।

जुन महिनामामात्र ६४ हजार ५ सयलाई नागरिकता वितरण गरिएको युएससीआईएसले जनाएको छ । त्यस्तै जुलाई १ देखि ७ सम्म अमेरिकाको स्वतन्त्रता दिवशको अवशरमा युएससीआईएसले दर्जनौं नागरिकता वितरण समारोहहरुको आयोजना गरिरहेको छ ।

कोरोनाको महामारीका कारण स्थगित भएका सबै नागरिकता वितरणको काम जुलाईभरमा सक्ने युएससीआईएसले लक्ष्य लिएको छ । तर नागरिकता वितरण समारोहहरु सानासाना र फरक शैलीमा गरिएका छन् । कतिपय नागरिकता वितरण समारोहहरु ड्राइभ थु्रमा समेत गरिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले अमेरिकामा डिसेम्बरसम्मका लागि आप्रवासी र कामदार भिसामा प्रतिबन्ध लागेको अवस्थामा युएससीआईएसले साधनश्रोत नागरिकता वितरणतिर लगाएको हो । अमेरिकामा पेन्डिङ अवस्थामा रहेका ग्रिनकार्डका आवेदन समेत चुपचाप होल्डमा राखेर युएससीआईएसका कर्मचारीहरुलाई नागरिकता वितरणमा लगाइएको छ ।

कर्मचारीलाई तलब खुवाउने रकमको अभावमा अर्कोमहिनादेखि १३ हजारभन्दा बढी कर्मचारीलाई बेतलवी विदा दिने योजनामा युएससीआईएस रहेको छ । संसदले तलबका लागि बजेट विनियोजन गरेको खण्डमा भने युएससीआईएसका कर्मचारीहरुलाई विदा दिइनेछैन ।

झण्डै २० हजार कर्मचारीहरुमा १३ हजार ४ सय कर्मचारीहरुलाई विदा दिएपछि अमेरिकाको ग्रिनकार्ड र नागरिकता लगायतका विषयमा काम गर्ने मुख्य एजेन्सी लगभग ठप्पप्राय हुनेछ । कोरोनाको महामारीका कारण युएससीआईएसले सुचारु गर्न १ दशमलव २ बिलियन फण्डको आवश्यकता रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com