अमेरिकी अध्यागमन अदालतमा जुन २९ बाट सुनुवाई, ३७९५ नेपालीका मुद्दा पेन्डिङ
प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार
अमेरिकाका अध्यागमन अदालतहरुमा हिराशतमा रहेकाहरुबाहेकका व्यक्तिका सुनुवाईहरुपनि जुन २९ बाट सुचारु गर्ने योजना बनाइएको छ । एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार कैयन अध्यागमन अदालतमा जुन २९ पछि हिराशतमा नरहेकाहरुको पनि सुनुवाई गरिनेछ ।
बफेलो र मेम्फिसका अध्यागमन अदालतहरुमा जुन २९ सोमबारदेखि हिराशतमा रहेकाहरुबाहेकका पनि सुनुवाई सुचारु गरिनेछ । त्यस्तै बोस्टन, डायलस र लस भेगासका अध्यागमन अदालतमा पनि जुन २९ पछि नै हिराशतमा रहेकाबाहेककाहरुको पनि सुनुवाई गरिनेछ ।
होनोलुलुको अध्यागमन अदालतमा भने जुन १५ पछि नै सबै प्रकारका सुनुवाईहरु सुचारु गरिनेछ । कोरोनाको महामारीका कारण अमेरिकाका अध्यागमन अदालतहरुमा हिराशतमा रहेकाहरुबाहेकका अन्य सुनुवाईहरु स्थगित गरिएको छ ।

अमेरिकाको अध्यागमन अदालतमा मुद्दाको ब्याकलग चर्को रहेको अवस्थामा अदालतमा नियमित सुनुवाईहरु स्थगित हुँदा ठूलो संख्यामा नेपालीहरु समेत मारमा परेका छन् । बर्षौ कुरेर प्राप्त गरेको सुनुवाईको मितिमा पनि सुनुवाई हुन नसक्दा उनीहरुको मुद्दा अनिश्चितकालका लागि पछाडि धकेलिएको छ ।
अमेरिकाको अध्यागमन अदालतमा नेपालीहरुका ३७९५ वटा अध्यागमन केसहरु पेन्डिङ अवस्थामा रहेका छन् । त्यो बाहेक ११ जना नेपालीहरुका अपराधसँग सम्बन्धित देशनिकालाका केसहरु अमेरिकी अध्यागमन अदालतमा रहेका छन् ।
नेपालीका ३७९५ पेन्डिङ केसहरुमध्ये सबैभन्दा धेरै २ हजार ९ न्युयोर्कका अदालतमा रहेका छन् भने दोश्रोमा १ हजार १२ क्यालिफोर्नियाका अदालतमा रहेका छन् । टेक्सासका अदालतमा ३४६ वटा केसहरु रहेका छन् भने मासाचुसेट्सका अध्यागमन अदालतमा १०९ केस पेन्डिङ रहेका छन् ।





