राज्यहरुलाई शरणार्थी अस्वीकार गर्नसक्ने अधिकार दिने ट्रम्पको आदेश कार्यान्वयनमा रोक


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

अमेरिकाका राज्यहरुलाई शरणार्थी अस्वीकार गर्नसक्ने अधिकार दिने ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएको छ । मेरिल्याण्डका संघीय न्यायाधिसले ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगाएका हुन् ।

बुधबार जारी प्राथमिक आदेशमा शरणार्थी सम्बन्धि ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगाइएको हो । तीनवटा शरणार्थी पुनर्वास एजेन्सीहरुले कार्यकारी आदेशबिरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

ट्रम्पको कार्यकारी आदेशपछि टेक्सासले नयाँ शरणार्थी नलिने घोषणा गरेको थियो । टेक्सासका गभर्नरले आफ्नो राज्यमा पुनर्वास हुने शरणार्थीहरु स्वीकार नगर्ने घोषणा गरेका थिए ।

ट्रम्पको कार्यकारी आदेश स्वीकार्दै टेक्सास शरणार्थीहरु नलिने घोषणा गर्ने पहिलो राज्य भएको थियो । त्यहाँका गभर्नर ग्रेग अबोर्टले टेक्सासले पुनर्वास प्रकृयामा आफ्नो हिस्साको भन्दा धेरै शरणार्थी स्वीकार गरिसकेकाले अब शरणार्थीहरु नस्वीकार्ने बताएका थिए ।

टेक्सासमा शरणार्थीहरु गएर बस्न पाउने तर शरणार्थीहरु सिधै पुनर्वासका लागि टेक्सास जान नपाउने नियम गभर्नरले लगाएका थिए ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले स्वीकार्ने शरणार्थी संख्यामा कटौती गर्दै राज्यहरुलाई शरणार्थी लिने वा नलिने कुराको अधिकार समेत प्रदान गरेका थिए । अहिलेसम्म ४२ राज्यले शरणार्थीहरु स्वीकार्न सहमति जनाएका छन् ।

यो बर्ष अमेरिकाभर ३३५० जना शरणार्थीहरुको पुनर्वास गरिएकोमा टेक्सासले २६० जना स्वीकार गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com