पोर्चुगलमा सडकमा सुत्ने नेपालीको समाचारपछि पत्रकार र एनआरएन अध्यक्षबीच रस्साकस्सी


प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार

– हरिकृष्ण पन्थी / पोर्चुगल

पोर्चुगलमा कुलतका कारण दुई नेपालीको सडकमा बास भएको समाचार प्रकाशित भएपछि समाचारको विषयलाई लिएर त्यहाँका पत्रकारहरु र एनआरएनए पोर्चुगलका अध्यक्षबीच रस्साकस्सी सुरु भएको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले समाचारलाई कथाको संज्ञा दिदै समाचारप्रति खेद व्यक्त गरेर वक्तब्य नै जारी गरेका थिए ।

त्यसपछि पोर्चुगलका पत्रकारहरुले संयुक्त वक्तब्य जारी गरेर संस्थाको लेटरप्याडको दुरुपयोग गर्दै सत्य समाचारमाथि गरिएको हचुवा खन्डन र प्रहार महङ्गो सावित हुने भन्दै एनआरएनए पोर्चुगललाई चेतावनी दिएका छन् ।

वक्तब्यमा भनिएको छ  – ‘एनआरएनए पोर्तुगल बेलैमा नसच्चिए पत्रकार र एनआरएनएबीच द्वन्द्व बढ्ने देखिन्छ । पोर्तुगलमा रहेका सम्पूर्ण संघ संस्थाका पदाधिकारीहरु, व्यापारी, वुद्धिजीवी र दिदीबहिनी तथा दाजुभाइहरुलाई न्यायिक पक्ष र समाजका विकृति एवं विसङ्गतिविरुद्ध आवाज बुलन्द गर्नसमेत यसै विज्ञप्तिमार्फत आव्हान गर्दछौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सत्य समाचारमाथि गरिएको हचुवा खन्डन र प्रहार महङ्गो सावित हुने’ – पत्रकारहरु

नमस्ते नेपाली डट कमका सम्पादक योगेन्द्रमिलन छन्त्याल, वर्ल्ड नेपाली डट कमका सम्पादक राजकुमार थापा, भ्वाइस अफ नेपाल डट टिभीका सहसम्पादक सुरेश जोशी, खसोखास डट कमका सम्पादक हरिकृष्ण पन्थी, पोल्यान्ड नेपाल डट कमका सम्पादक कलश खरेल, रासस प्रतिनिधि पोर्तुगल भगवान गिरी र नेपाल पत्रकार महासंघ पोर्तुगल शाखा, प्रवक्ता पेम्बागेलु शेर्पाले वक्तब्यमा हस्ताक्षर गरेका छन् ।

वक्तब्यमा भनिएको छ – ‘गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेले पोर्तुगलका लागि राष्ट्रिय समाचार समिति प्रतिनिधि भगवान गिरीद्वारा सम्प्रेषित समाचारप्रति अनावश्यक टिप्पणी गर्दै हतारोमा प्रेस विज्ञप्ति निकालेकोमा हामी पोर्तुगलका विभिन्न नेपाली मिडियामा संलग्न पत्रकारहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

एनआरएनएका कुनै पनि पदाधिकारीसँग परामर्श र छलफल नै नगरी गैरेले निकालेको विज्ञप्तिमा सडकमा नेपाली वास बस्ने गरेको कुरा पनि स्वीकार गरेको तथा पोर्तुगलमा केही नेपाली आजभोलि पनि सडकमा वास बसिरहेका र उनीहरुको अवस्था नाजुक रहेको समाचारका सम्बन्धमा गैरेले विज्ञप्ति जारी गर्न उपयुक्त नभएको पत्रकारहरुको भनाई छ ।

‘सम्पूर्ण समाचार पढ्दै नपढी अनलाइन पत्रकारिताको जमानामा विभिन्न मिडियामा आआफ्नै ढंगले शीर्षक राखी समाचार प्रकाशित  हुँदा कतिपय सन्दर्भमा नकारात्मक बुझाइ रहेको पाइन्छ । यथार्थमा समाचारको गुदी कुरा पोर्चुगलमा केही समयदेखि बढ्दै गएको कुलत, कुसंगतले युवाहरुमा यसका नकारात्मक प्रभाव परेको यथार्थता हो ।’ –  पत्रकारहरुले वक्तब्यमार्फत भनेका छन् ।

वक्तब्यमा भनिएको छ – ‘कतिपय यस्तै कुलत र डिप्रेशन समेतले घरपरिवार र जिम्मेवारीबाट विचलित भइ सडकमै बस्ने, सडकमै खाने गरेको सत्यता सबैले देखेकै कुरा हो । समुदायका यस्ता समस्याहरु देखा परिरहेका छन् र यिनलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विकल्प र सुझावसहितको समाचारले सकारात्मक परिवर्तनको प्रयास गरेको हाम्रो ठहर छ ।’

यो समाचारपश्चात यस्ता समस्यालगायत सबै खालका विकृति र विसङ्गतिविरुद्ध निरन्तर कलम चलाउनुपर्ने आवश्यकता झनै बढेको बताउँदै एनआरएनए सबैको संस्था हो भन्ने कुराको  ख्यालै नगरी संस्थाको लेटरप्याडको दुरुपयोग भएकोमा पत्रकारहरुले आपत्ति जनाएका छन् ।

‘हामीलाई नै सुझाव दिने कुचेष्टाप्रति खेद’ –  एनआरएनए पोर्चुगल

एनआरएन पोर्चुगलका अध्यक्ष तिलक गैरेले वक्तब्यमा राससमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै भनेका थिए राससमा प्रकाशित पोर्चुगलमा सडकमै सुत्नछन् नेपाली शीर्षकको समाचार नामको कथाप्रति एनआरएन पोर्चुगलको गम्भिर ध्यानाकर्षण भएको छ । दुईचारजना दुब्र्यशनको शिकार भएका युवाहरु, परिवार एवं समाजको अथक प्रयास बाबजुत सडकमा पनि भेटिने गरेको तथ्यलाई अतिरञ्जित गरी राससजस्तो विश्वसनीय संस्थाले हचुवा र काल्पनिक रुपमा समाचार प्रकाशन गर्नु अत्यन्त खेदजन कार्य भएको हाम्रो ठहर छ ।

पोर्चुगलका अन्य आप्रवासी समुदायको तुलनामा नेपाली समुदाय परिश्रमी, इमान्दार र कर्तब्यपरायण रहेको तथ्य पोर्चुगलमा कसैबाट छिपेको छैन । र दुब्र्यशनको कुलतमा फसेका ती केही व्यक्तिलाई सुधार केन्द्रमा राख्ने, परिवारसँग सम्पर्क गरी नेपाल फर्काउने, पोर्चुगलमा रहेका परोपकारी संघ संस्थामार्फत सहयोग गर्ने गरिरहेको यथार्थ थाहा पाउँदा पाउँदै तथा हामीले गरिरहेको र थप केही गर्ने योजनामा रहेको कुरा बताएपछि उक्त कुरालाई पत्रकारले उल्टै यस्तो गर्न सकिन्छ भनेर हामीलाई नै सुझाव दिने कुचेष्टा गरेको प्रति हाम्रो खेद छ । एनआरएनए पोर्चुगलका अध्यक्षले जारी गरेको वक्तब्यमा भनिएको थियो ।

वक्तब्यमा भनिएको थियो पोर्चुगलमा रहेका स्वभिमानी नेपाली आप्रवासीहरुको मानमर्दन हुनेगरी बदनियतपूर्वक लेखिएको उक्त समाचारमा कुनै सत्यता नभएको जानकारी गराउँछौं । तथा उक्त भ्रामक समाचारप्रति चासो राख्नु भएकोमा गैर आवाशीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तज्यूलाई धन्यवाद दिदै सम्पूर्ण मित्रहरु र परिवारजनहरुलाई उक्त बहकाउको पछि नलाग्न आग्रह गर्दै उक्त भ्रमपूर्ण समाचारको राससले खण्डन प्रकाशन गरोस् भनी माग समेत गर्दछौं ।

समाचारमा के थियो ?

राससमा भगवान गिरीले लेखेको समाचारमा कुलतमा फसेका कारण सडकको बास भएका दुईजना नेपालीको बारेमा उल्लेख गरिएको थियो । जसमा एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरको भनाई समेत समेटिएको थियो ।

जसमा गैरेले भनेका थिए गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो ।साथीभाइ पोर्चुगलमा यथार्थ भन्दा धेरै ठूलो सपना बोकेर आउनुहुन्छ वा महत्वाकांक्षी सपना बुन्नु हुन्छ तर त्यस्तो खालको सोचाइ र सपना रातारात पूरा हुने अवस्था छैन, यहाँ मात्र होइन कहींँ गए पनि त्यस्तो हुँदैन । सडकको वास नेपाली समुदायमा निकै जटिल समस्याको रुपमा देखापरेको छ । यसको समाधान चुनौतीको रुपमा देखा पर्न थालेको छ ।

समाचारमा पोर्चुगलको व्यस्त सडकमा सडक जीवन बिताइरहेका पोखरा र काठमाडौँका दुई युवाको भनाई पनि उल्लेख थियो ।

“सपना ठूलो थियो । तर सपना देख्दादेख्दै सडकमा आइपुगेको पत्तै भएन्”, उनीहरुले भनेका थिए, “हामी सम्पन्न परिवारमा हुर्के बढेका । तर आज गलत सङ्गत र कुलतकै कारण सडकछापमा परिणत भयौं ।”

सडकमै खाने, सडकमै सुत्ने र सडकमै रमाउने उनीहरु नेपाल फर्किने सोचमा नभएको तथा घरपरिवारबाटसमेत साथ पाउन छाडेका उनीहरुले नेपाल गएर पारिवारिक स्नेह र वातावरणमा सुध्रन्छु भन्ने आशा नरहेको बताएको पनि समाचारमा उल्लेख थियो ।

एनआरएनए पोर्चुगल, नेपाली समाज र अवैतानिक वाणिज्यदूतावासको सामूहिक पहलमा सडकमा पुगेका नेपालीलाई उद्धार गर्न सकिने, उनीहरुको अवस्थाबारे परिवारलाई जानकारी गराएर नेपाल फर्काउन वा सुधार केन्द्रमा पठाउन सकिने, समस्या समाधानको लागि उनीहरुलाई काउन्सिलिङ गर्ने, हेल्प डेक्स सञ्चालनमा ल्याउने र पोर्चुगलको परोपकारी सङ्घ संस्था सङ्गसमन्वय गरी उद्दार गर्न सकिने समाचारमा उल्लेख थियो । तर यही विषयलाई लिएर एनआरएनए पोर्चुगलका अध्यक्षले वक्तब्य जारी गरी पत्रकारले यस्तो गर्न सकिन्छ भनेर आफूहरुलाई सुझाव दिने कुचेष्टा गरेको भन्दै खेद जनाएका छन् ।

प्रकाशित समाचार यहाँ पढ्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com