६ नेपालीलाई अमेरिका लैजाने भन्दै पुर्याइयो अफ्रिका, मानवतस्कर पक्राउ


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका छ युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर बन्धक बनाउने कार्यमा संलग्न भारतीय नागरिक नाजिर अहमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले विगत एक वर्षदेखि अमेरिका लैजाने भनी भियतनाम, इथियोपिया, मडागास्कार, जोर्डन, दुबई, अजरबैजान हुँदै अफ्रिकाको मलावी पु¥याएर बन्धक बनाएको जानकारी दिनुभयो ।

“ब्यूरोको टोली र मलावीको सीआईडी पुलिसको समन्वयमा मलावीको गाउँबाट उद्धार गरी स्वदेश फर्काउन सफल भएका छौँ,” उहाँले भन्नुभयो । उद्धार गरिएका मध्ये पर्वतका चार युवालाई स्वदेश ल्याइसकिएको र बाँकी दुईलाई ल्याउने क्रममा रहेको ब्यूरोले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानव तस्कर गिरोहले अजरबैजान लाने क्रममा नेपालबाट भियतनाम लगेर २० दिन राखेको, इथियोपियामा चार महिना, मडागास्कारमा २५ दिन, जोर्डनमा एक महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको अनुसन्धानमा खुलेको छ ।

मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहको मलावी प्रहरी तथा मानव बेचविखन अनुसन्धान ब्यूरोबाट अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही हुने प्रवक्ता थपलियाले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com