बर्लिन पर्खाल भत्किएको ३० बर्ष, पूर्व र पश्चिमबीचको विभाजनको घाउ कहिले पुरिने ?
– जीवा लामिछाने
बर्लिन पर्खाल भत्काएर जर्मनी एक भएको ३० वर्ष भइसक्दा पनि पश्चिम जर्मनीको तुलनामा पूर्वी जर्मनी विकासका दृष्टिले पछि नै परेको देखिन्छ । पूर्वी जर्मनी पुनर्निर्माणका लागि जर्मन नागरिकले अतिरिक्त कर (सोलिडारिटी सरचार्ज) तिर्न थालेको ३० वर्ष भइसक्यो । कतिले त यसरी अतिरिक्त कर तिर्नुपरेकोमा विरोध पनि गर्दै आएका छन् ।
गएको निर्वाचनमा यो एउटा चुनावी मुद्दा भएको थियो । एक तथ्यांकअनुसार, एकीकरणपछि पूर्वी क्षेत्रको विकास निर्माणमा संघीय सरकारले दुई ट्रिलियन युरो (बीस खर्ब युरो) भन्दा बढी रकम खर्च गरिसकेको छ । तर, पनि पश्चिमी भागको तुलनामा उनीहरू पछि नै छन् ।

कुराकानी हुँदा दुवैतर्फका मानिस समान रूपमा असन्तुष्ट रहेको म पाउँछु । पश्चिमाको गुनासो छ, ३० वर्षदेखि हामीले तिरेको करबाट उनीहरू मस्ती गर्दैछन् । पूर्वीयाहरू सोच्छन्, हामीलाई भेदभाव गरियो । न पूर्वी भागमा बस्नेहरूले आफूहरू एकै देशका नागरिक हौँ भन्ने सोच्न सके, न त पश्चिमीहरूले उनीहरूलाई सगोत्री सम्झेर आत्मसात् गर्न सकेका छन् ।
विभाजनको त्यो घाउमा खाटो बस्न अझ कति समय लाग्ने हो, थाहा छैन । उनीहरूबीचको सम्बन्ध देख्दा ‘सन्त रहिमदास’को ‘चुँडिएको धागो जोड्न त सकिएला, तर त्यसमा गाँठो भने सधैँ रहिरहन्छ’ भन्ने मर्मस्पर्शी भनाइ सम्झना भइरहन्छ–
‘रहिमन धागा प्रेमका मत तोडो चटकाये
टुटे से फिर ना जुटे जुटे गाँठ पर जाये ।’






