ब्लुमबर्गबाट अमेरिकी राष्ट्रपति चुनावमा उठ्न डेमोक्रेटिक प्राइमरीमा उम्मेदवारी दर्ता


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर एवं अर्बपति व्यापारी माइकल ब्लूमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट अलाबामा प्राइमरीका लागि उम्मेदवारी दर्ता गराएका छन् । ब्लुमबर्गका प्रतिनिधिले अलाबामा डेमोक्रेटिक पार्टीसमक्ष ब्लुमबर्गको नाम मतपत्रमा समावेश गर्नका लागि कागजातहरु पेश गरेका हुन् ।

आगामी मार्च ३ मा अलाबामामा डेमोक्रेटिक प्राइमरी हुँदैछ । पार्टीका प्रवक्ताले ब्लुमबर्गका तर्फबाट पेश गरिएका कागजातहरु पुनारावलोकन भइरहेको बताएका छन् । अलाबामा राज्यमा प्राइमरीका लागि आवेदन दिने मिति आजसम्ममात्र रहेको थियो । ब्लुमबर्गले सुरुका ४ प्राइमरी प्रतिस्पर्धाहरुमा सहभागी नहुने जनाइएको छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट झण्डै डेढ दर्जन आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन् । ७७ वर्षीय ब्लूमबर्गले ब्लूमबर्गले गत मार्चमा आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका थिए तर अन्ततः चुनावी दौडमा उत्रने भएका छन् ।

अमेरिकी अर्बपति व्यापारी समेत रहेका ब्लूमबर्गले आफ्ना सहयोगीलाई अमेरिकी राज्य अलाबामाबाट डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावी प्रतिस्पर्धाका लागि आफ्नो हस्ताक्षर सहित आवेदन गर्न पठाएका हुन् ।

डेमोक्रेटिक पार्टीबाट मनोनयन भएमा सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लूमबर्गको भिडन्त अर्का अमेरिकी अर्बपति व्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।अमेरिकी धनाढ्य ब्लूमबर्गको चुनावी दौडले हालसम्म डेमोक्रेटिक पार्टीका तर्फबाट अग्रपंक्तिमा देखिएका जो बाइडेनमाथि मुख्य चुनौती खडा गर्नेछ ।

अमेरिकी वित्तीय राजधानी वालस्ट्रिट निकट मानिएका ब्लूमबर्गले राष्ट्रपतिको दौडमा रहका अर्का प्रभावशाली उम्मेदवारहरु एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सलाई बामपन्थी झुकाव राख्ने भन्दै आलोचना पनि गर्ने गरेका छन् ।

न्यूयोर्क पोस्टमा छापिएको एक समाचारमा ब्लूमबर्गका निकटस्थले “ब्लूमबर्गको विचारमा जो बाइडेन कमजोर छन् र स्यान्डर्स एवं वारेनले चुनाव जित्दैनन् ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com