मोर्चाका नेता विपदमा, कार्यकर्ताबाट राजधानी छोड्न अल्टिमेटम (भिडियो)


प्रकाशित मिति : फाल्गुन २५, २०७३ बुधबार

सोमबारको सप्तरी घटनापछि देश तरंगीत छ । मधेसी मोर्चाले सरकारलाई सात दिने अल्टिमेट दिइसकेको छ । सात दिन भित्र आफ्नो माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने यो अल्टिमेटमको पहिलो बटमलाईन हो । तर, मधेसी मोर्चालाई यस्तो आपत आइलाग्यो की, मोर्चा आफैलाई सात दिने अल्टिमेटम लागेको छ । मोर्चाका स्थानीय नेता कार्यकर्ताले आफ्ना शीर्ष नेतृत्वलाई सात दिने अल्टिमेटम दिएका छन् ।

सोमबार मधेसी मोर्चा सप्तरी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर मोर्चाका तीन जना कार्यकर्ताले ज्यान गुमाइसकेका थिए ( मृतकको संख्या चार पुगेको छ ) । त्यो समय, मोर्चाका शीर्ष नेतृत्व काठमाडौंमै थिए । तीन जनाको मृत्यु प्रस्चात हतार–हतार मोर्चाको बैठक काठमाडौंमा बस्यो । जुन, बैठकले नामै किटान गरेर आफ्ना चार जना कार्यकर्ताको हत्या भएको दावी गऱ्यो ( त्यो समय तीन जनाको मात्र मृत्यु भएको थियो ) । त्यतिखेर मधेस जल्न थालिसकेको थियो ।

मोर्चाका शीर्ष नेतृत्वको बैठक बस्नु अगावै मोर्चाको सप्तरी स्थित जिल्ला स्तरका कार्यकर्ताले अनिश्चितकालिन सप्तरी बन्द घोषणा गरिसकेका थिए । स्थानीय स्तरबाट घोषित अहान्दोलनलाई निरन्तरता दिदै शीर्ष नेतृत्वको बैठकले दुई दिन मधेस बन्द घोषणा गर्‍यो । आफ्ना तीन जना कार्यकर्ताको गोली लागेर मृत्यु भइसक्दा मोर्चाका स्थानीय नेता तथा कार्यकताले आफ्ना शीर्ष नेतृत्वको खाँचो सोमबार नै महसुस गरेका थिए । तर, मोर्चाका सबै शीर्ष नेता मधेस ओर्लन सकेनन् । अझै पनि उनीहरु राजधानीमै छन् । त्यसैले आन्दोलनमा रहेका जिल्लाका मधेसी मोर्चाका नेता–कार्यकर्ता आफ्नै नेतृत्व प्रति खनिन थालेका छन् ।

बिगतदेखीनै मधेसी मोर्चाका शीर्ष नेतृत्वप्रति आफ्नै कार्यकर्ताबाट आलोचना हुने गरेको छ । शीर्ष नेतृत्वले हुकुम दिनुको साटो फिल्डमै आएर आन्दोलनमा होमिनु पर्ने कार्यकर्ताले चाहना राख्दै आएका छन् । आफ्ना चार जना कार्यकर्ताले ज्यान गुमाइसक्दा पनि शीर्ष नेतृत्व मधेस झर्न नचाहेको जिल्लाका कार्यकर्ताले आरोप लगाइरहेका छन् । स्थानीय नेताहरु आफ्ना शीर्ष नेतृत्व सत्ताकै बार्गेनिङमा लागेको आरोप लगाउन थालेका छन् ।

मोर्चाका स्थानीय नेता कार्यकर्ताले शीर्ष नेतृत्व प्रति आरोप लगाउनु अस्वभाविक होइन । सोमबारको घटना लगत्तै बसेको मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्किपूर्ण अनौपचारिक निर्णय गऱ्यो । तर, मोर्चाको यो निर्णय १२ घण्टा पनि टिक्न सकेन । मंगलबार बसेको बैठक मार्फत मोर्चा पुरै युट्रन भयो । सोमबार समर्थन फिर्ता लिने निर्णयमा पुगेको मोर्चा मंगलबार सात दिने अल्टिमेटममा युट्रन भयो । केही मागहरु राख्दै मोर्चाले सरकारलाई सात दिने अल्टिमेटम दियो । जुन अल्टिमेटम बुधबार बिहान मोर्चाले प्रधानमन्त्री प्रचण्डलाई बुझायो । यसले, मोर्चाका शीर्ष नेतृत्व सत्ता बार्गेनिङमा अल्झिएको स्थानीय कार्यकर्ताको आरोप पुष्टी गर्छ ।

यो, बार्गेनिङप्रति मोर्चाका जिल्ला स्तरीय नेता–कार्यकर्ता पुरै रुष्ट छन् । उनीहरु आफ्नै नेताहरुलाई चेतावनी दिइरहेका छन् । तत्काल राजधानी छोडेर फिल्डमा आन्दोलन गर्न नआए नेता विरुद्ध संघर्ष गर्ने उनीहरु चेतावनी दिइरहेका छन् ।

मधेसी मोर्चाका शीर्ष नेतृत्व सरकारलाई ७ दिने अल्टिमेटम दिएर राजधानीमै बसेका छन् । तर, उनै शीर्ष नेतृत्वलाई आफ्नै कार्यकर्ताको सात दिने अल्टिमेटम लागेको छ । सप्तरी स्थित मोर्चाका स्थानीय नेताले आफ्ना शीर्ष नेतृत्वलाई सात दिन भित्र मधेस झर्न अल्टिमेटम दिएका हुन । आठौं दिन मधेस नफर्के आफ्नै नेताको पुत्ला जनाउने स्थानीय नेताले चेतावनी दिइसकेका छन् ।

संविधान जारी भए यता नै मधेस असान्त छ । मधेस निरन्तर आन्दोलनमा छ । संविधान जारी भए यता नै ६० जनाभन्दा बढी मधेसी जनताले ज्यान गुमाइसकेका छन् । शीर्ष नेतृत्वले काठमाडौंबाट जारी गरेको हुकुम मानेर आन्दोलनमा होमिएकाहरुले ज्यान गुमाएको स्थानीय नेता कार्यकर्ताको बुझाइ छ । त्यसैले अब, स्थानीय नेता कार्यकर्ता शीर्ष नेतृत्व प्रति आक्रोस पोख्न बाध्य भएका हुन । मोर्चाका स्थानीय कार्यकर्ता मात्र होइन, मधेसी जनताको अधिकारका लागि पैरवी गरिरहेकाहरु समेत मोर्चाका नेता राजधानी छोडेर मधेस झर्नुपर्ने आवश्यकता देख्छन् ।

यो या त्यो वहानामा, मधेस असान्त छ । देशको एक भू–भाग पुरै असान्त हुँदा देश सान्त हुन सक्दैन । त्यसैले मधेस समस्या समाधान यतिखेरको खाँचो हो । तर, कुनै न कुनै वहानामा मधेस असान्त पार्ने काम सरकार, जिम्मेवार राजनीतिक दल र स्वयम मधेसी मोर्चाबाटै भइरहेको छ । यसको अन्त्य हुन आवश्यक छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com