राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठसहितः नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन जोड
प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

वीरगञ्ज, २१ कात्तिक(रासस)ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाली चलचित्र प्रदर्शन ५४ औँ वर्षमा प्रवेश गरेका उपलक्ष्यमा वीरगञ्जमा आयोजित ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६’ को आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक, भाषिक क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको नेपाली चलचित्र जगत्लाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठः
नेपालको आर्थिक, व्यापारिक र ऐतिहासिक नगरी वीरगञ्जमा “तराई, पहाड, हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव” को संकल्पका साथ भव्य महोत्सव आयोजना गरेकोमा नेपाल चलचित्र संघलाई धन्यवाद दिँदै यसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।
यस ऐतिहासिक महोत्सवको आयोजनामा प्रदेश सरकार, स्थानीय तह, बाणिज्य क्षेत्र, जनसमुदाय र विभिन्न निकायले देखाएको तत्परता र उत्साहको सराहना गर्दछु ।
नेपाली चलचित्र जगतले गौरव गर्नुपर्ने आजको यस पुनीत अवसरमा पुरस्कृत एवं सम्मानित चलचित्रकर्मी र सहयोगी सबैमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
नेपालको सुन्दर चुरे क्षेत्रको काखमा अवस्थित उर्बर भूमि, मनोरम ताल तथा पोखरी एवं समृद्ध साँस्कृतिक सम्पदाले सम्पन यस प्रदेश नम्बर दुईमा आयोजित कार्यक्रममा पटकपटक सहभागी भई यहाँहरूको न्यानो स्वागत पाएकोमा खुशी व्यक्त गर्दै सम्बद्ध सबैप्रति आभार प्रकट गर्दछु ।
आधा शताब्दी भन्दा बढिको गौरवशाली यात्रा पूरा गरेको नेपाली चलचित्र क्षेत्रले हाम्रो बहुसाँस्कृतिक, बहुभाषिक र भौगोलिक विविधतालाई उजागर गर्न ठूलो मेहनत गरेको छ ।
नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्वसमा आफ्नो उपस्थिति जनाउँदै विश्वस्तरमा विस्तारित हुन प्रयासरत छ ।
यसका लागि चलचित्र उत्पादक, सर्जक, निर्देश, कलाकार र चलचित्रकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै थप सफलताका लागि अझ लगनशील भएर सक्रिय हुन हार्दिक आव्हान गर्दछु ।
चलचित्र समाजमा बहुआयामिक प्रभाव पार्ने सशक्त माध्यम भएकाले यसले समकालीन समाजको यथार्थता उद्घाटित गर्न, उन्नत सामाजिक साँस्कृतिक सन्देश प्रवाह गर्न र दर्शक एवं स्रोतालाई स्वस्थ्य मनोरञ्जन प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।
देशको गौरव र पहिचानको रूपमा रहेका प्राकृतिक, साँस्कृतिक र पुरातात्विक सम्पदालाई कलाको माध्यमबाट सिर्जनात्मकरूपमा उतारेर आफ्नो पहिचानलाई उजागर गर्न चलचित्रजगत मार्फत विश्वमा अग्रसर बन्नु पर्दछ ।
प्राकृतिक सौन्दर्यले सुशोभित नेपाल आफैँमा अनुपम प्राकृतिक चलचित्र नगरी र चलचित्र ग्राम झैँ लाग्दछ ।
हाम्रो उर्वर समथर भूमि, पहाडका सुन्दर डाँडा र मनमोहक हिमाली श्रृंखला जैविक विविधता र अपार साँस्कृतिक सम्पदाले भरिपूर्ण छन् ।
यहाँको वैभवतालाई अधिकतमरूपमा सदुपयोग गर्दै अन्तर्राष्ट्रिय जगतलाई आकृष्ट गरी चलचित्र छायांकन गन्तव्यका रूपमा विकास गर्दै जानु पर्दछ ।
यसका लागि मनोरम स्थलहरूमा छायांकन स्टुडियोहरू निर्माण सम्बद्ध पक्ष अग्रसर बन्नु पर्ने आवश्यकता रहेको महसुस गरेको छु ।
हाम्रो देशमा लोकतन्त्रको उदय र उदार समाजको विकास भएसँगै विभिन्न जातजाती, भाषा, वेशभूषा र संगीतलाई प्रष्फूटित गर्ने चलचित्रहरू अझ बढि निर्माण हुन थालेका छन् ।
चलचित्रमा प्रत्यक्षरूपमा प्रकट हुने कला, साहित्य र संगीतको माध्यमबाट साँस्कृतिक विविधताबीच एकताको बलियो र सुन्दर मालामा उनीएको मौलिक नेपाली समाजको यथार्थ चित्र विश्वसामू प्रदर्शित गर्न क्रमशः हामी सफल हुँदै आएका छौँ ।
आफ्नो सिर्जनाप्रति गर्व गर्दै चलचित्ररूपी हाम्रा यी मौलिक सामाजिक साँस्कृतिक निधिहरूको आधुनिक प्रविधिमा रूपान्तरण गरी संरक्षण र सम्बद्र्धनका लागि सुरक्षित गर्नुपर्ने विषयमा सम्बद्ध पक्षको ध्यानाकृष्ट गराउन चाहन्छु ।
चलचित्र र यस क्षेत्रसँग सम्बन्धित सर्जकहरू राष्ट्रका गौरव भएकाले कलाकारहरूलाई प्रोत्साहन गर्न सरकार, समुदाय, निजी क्षेत्र र संचारजगत सबैले ध्यान दिनु आवश्यक छ ।
हजारौँको संख्यामा रोजगारी दिएको स्वदेशी चलचित्र उद्योगमा संलग्न श्रमजीवी चलचित्रकर्मीहरूको हकहित संरक्षण र सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नेपाल सरकारको सामयिक नीतिको सराहना गर्दछु ।
चलचित्र जगत आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने माध्यम भएकाले यसमा सम्बद्ध सबैलाई समयसापेक्ष तालीम र शिक्षा दिँदै भौतिक पूर्वाधारको विकास गर्दै जानु पर्दछ ।
साथै कलाकारहरू राष्ट्रका जागरुक र महत्वपूर्ण प्रतिनिधि पात्र भएकाले सामाजिक सहिष्णुता, शान्ति प्रबद्र्धन, पर्यटन विकास, पर्यावरणीय सन्तुलन र आर्थिक समृद्धिका सन्देशदूत बनेर समाजमा चेतना र जागरण फैलाउनु पर्दछ ।
चलचित्र स्वस्थ्य मनोरञ्जनको विषय हुनुको साथसाथै चेतना र जागरणको संबाहकसमेत भएकाले चलचित्र निर्माण गर्दा चलचित्रकर्मीहरूले सदा यस पक्षलाई आत्मसात गर्नुपर्दछ ।
चलचित्रकर्मीहरूको लक्ष्य स्वस्थ्य मनोरन्जनसहित सभ्य र आदर्श समाज निर्माण गर्ने हुनुपर्दछ ।
चलचित्रले सार्वजनिक शिक्षा तथा स्वास्थ्य प्रबद्र्धन, समाजमा विद्यमान रहेका कुप्रथाहरू दाइजो, बोक्सि, बालबिवाह, दहेजका बिरुद्धमा जागरण फैलाउँदै सुसभ्य र सुसंस्कृत समाज निर्माणमा योगदान गर्नुपर्दछ ।
यस प्रसंगमा यहाँको प्रदेश सरकारले समाजमा महिलाको उत्थान र विकासका लागि अगाडि सारेको बेटी पढाऔँ, बेटी बचाऔँ अभियानलाई सफल तुल्याउन चलचित्रकर्मीहरूलाई हार्दिक आव्हान गर्दछु ।
विकासको साझा आकांक्षा साकार तुल्याई समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय दायित्वमा चलचित्र क्षेत्र अग्रसर हुने विश्वास समेत लिएको छु ।
अन्तमा, यस चलचित्र महोत्सवले मोफसलमा कला तथा संस्कृतिको अभिवृद्धि गर्न र चलचित्रलाई समृद्ध उद्योगको रूपमा विकास गराउन योगदान पु¥याउने अपेक्षा लिँदैे पुनः सफलताको शुभकामना दिन चाहन्छु ।
धन्यवाद !
२०७६ साल कार्तिक २१ गते बिहीबार ।
—