नारी दिवस : मुलुकको नेतृत्व सम्हाल्न महिला सक्षम


प्रकाशित मिति : फाल्गुन २४, २०७३ मंगलबार

विभिन्न पार्टीका महिला नेत्रीले उचित अवसर तथा वातावरण प्राप्त भएमा आफूहरु देशको नेतृत्व लिन सक्षम रहेको दाबी गरेका छन् । नेपालले एकसय सातौँ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा सहभागी नेत्रीले अबका महिला देशको नेतृत्व लिन सक्षम रहेको बताएका हुन् ।

नेकपा (एमाले) की नेत्री एवम् पूर्वमन्त्री शान्ता मानवीले अबको युग भनेको पुरुष र नारी समानताको युग भएको बताउँदै महिलाले पनि पुरुषले सरह समान अवसर प्राप्त गरेको खण्डमा महिला पनि मुलुकको नेतृत्वका लागि सक्षम रहेको विचार व्यक्त गरिन ।

पाली काँग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले पछिल्लो समय नारीको अध्ययन तथा सक्रियताका कारणले उनीहरु समाजको विभिन्न क्षेत्रमा योगदान गरिरहेको बताइन। अहिले संविधानले प्रत्याभूत गरेको महिला सहभागिता कायम गर्नसकेमा ठूलो उपलब्धि हुने बताउँदै उनीले भनिन ‘दक्षिण एसियाकी पहिलो महिलामन्त्री द्वारीका देवी ठकुरानीदेखि लिएर मङ्गलादेवी, शैलाजा आचार्यलगायत नारीको देशका लागि असाधारण योगदान छ ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की नेत्री अमृता थापामगरले समाजमा संविधान बराबरी भनेर वकालत गरिए पनि गर्वबाटै छोरालाई अंश दिने र छोरीलाई पराइको घर जाने त हो भन्ने विभेदकारी सोचाइको अन्त्य गर्नुपर्नेमा जोड दिइन । ‘अबका नारीले मत हाल्ने मात्रै होइन, आफैँलाई चुन्ने अवस्थामा पुगेका छौँ ’ –उनीले भनिन।

मधेसी मोर्चाकी नेत्री डिम्पलकुमारी झाले समाजमा चल्दै आएका पितृसतात्मक सोचका कारण महिलालाई अहिलेसम्म पनि उपेक्षा गरिएकामा चिन्ता व्यक्त गर्दै राज्यका हरेक निकायमा महिलाको सहभागिता न्यून रहेको बताइन । रासस/ तस्विर गुगलबाट लिएकाे

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com