जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी निर्णय, राष्ट्रसंघलाई औपचारिक पत्र


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ ।

केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्ने भन्दै विश्वका नेताहरुको सहभागितामा बनाइएको पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गर्नुभएको थियो ।

प्राप्त समाचारअनुसार यस प्रयोजनका लागि संयुक्तराज्य अमेरिकाले संयुक्त राष्ट्रसंघलाई मङ्गलबार औपचारिक पत्र पठाएको हो ।

यस निर्णयसम्बन्धी आफ्नो जानकारीका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मङ्गलबार पत्र लेखेर औपचारिक रुपमै जानकारी गराउनुभएको राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको पुष्टि गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ– महासचिव गुटर्रेसले संयुक्तराज्य अमेरिकाले सन् २०१५ डिसेम्बर १२ मा गरेको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र प्राप्त गर्नुभएको छ ।

अमेरिकाले उक्त सम्झौतामा भएका प्रावधानहरुको पालना गर्न नसक्ने भन्दै आएकोमा नोभेम्बर ४ देखि आफू अब सो सम्झौताबाट नै पछि हटेको औपचारिक रुपमा पत्र आएको प्रवक्ताले जानकारी दिनुभयो ।

यस सम्झौतामा भएका कतिपय प्रावधानका कारणले अमेरिकालाई अनावश्यक रुपमा आर्थिक भार थपेको अमेरिकाको भनाई थियो । यसैकारण देखाएर अमेरिकाले सो सहमतिको कार्यान्वयनमा जान नसक्ने बताउँदै आएको थियो ।

सन् २०१५ मा सम्पन्न भएको सो सम्झौतामा अमेरिकाले सन् २०१६ को अप्रिल २२ मा हस्ताक्षर गरेको थियो ।

करिब एक महिना अघि नै अमेरिकाको यस योजनाबारे संयुक्त राष्ट्रसंघलाई अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघलाई यस बारेमा औपचारिक रुपमा नै जानकारी दिनुभएको थियो ।

जालवायू परिवर्तनका क्षेत्रमा ऐक्यबद्ध भएर लड्ने प्रतिवद्धता व्यक्त भएको सो सम्झौतामा विश्वका अमेरिकासहितका विश्वका एक सय ८८ देश सहभागी छन् ।

राष्ट्रसंघीय प्रवक्ताले अमेरिकाले दिएको सो पत्र प्राप्त भएकोले राष्ट्रसंघले सोही बमोजिम काम गर्ने भन्दै यही नोभेम्बर ४ देखि नै अमेरिका सो सम्झौताबाट अलग भएको कुरा प्रावधान कार्यान्वयनमा आउने जानकारी दिनुभएको छ ।

अमेरिकी निर्णयप्रति फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त

अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको कुरा मङ्गलबार चीनमा बताउनुभएको हो ।

चीनको औपचारिक भ्रमणका क्रममा रहनुभएका उहाँले अमेरिकाको यो निर्णयपछि जलवायू परिवर्तनका क्षेत्रमा अब चीन र फ्रान्सको विशेष साझेदारिता आवश्यक रहेको धारणा पनि राख्नुभएको हो ।

राष्ट्रपति म्याँक्रोले भन्नुभयो– अमेरिकाको यो निर्णयले हामीलाई निकै दुःख लागेको छ र मलाइ लाग्छ अब विश्वमा जलवायू परिवर्तन तथा जैविक विविधताको क्षेत्रमा फ्रान्स र चीनको अलग्गै साझेदारिताको आवश्यकता रहेको छ ।

चीन भ्रमणका क्रममा आफू र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच जलवायू परिवर्तनका विषयमा विशेष सम्झौता हुने पनि बताइएको छ । बुधबार द्विपक्षीय वार्ताका क्रममा हुने सो सम्झौता जलवायू र जैविक विविधताका क्षेत्रमा अपरीहार्य विषय रहेको पनि सो समाचारमा जनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com