अक्टोबरमा अमेरिकामा कसैलाई दिइएन शरण, अस्थायी रोक नोभेम्बरसम्म लम्बाइयो


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

अक्टोबर महिनामा अमेरिकी सरकारले एकजना पनि शरणार्थीहरुलाई स्वीकार गरेन । यो शरणार्थीका रुपमा अमेरिका आउनेहरुका सन्दर्भमा मात्र हो । अमेरिकामा नै प्रवेश गरेर एसाइलम दावी गर्नेहरुका सन्दर्भमा भने होइन । अमेरिकामा प्रवेश गरेर एसाइलम दावी गर्नेहरुले भने नियमित रुपमा नै शरण पाइरहेका छन् ।

सरकारले शरणार्थी प्रवेशमा लगाएको अस्थायी प्रतिबन्ध मंगलबार हटाउने अपेक्षा गरिएको थियो । तर उक्त अबधि बढाएर नोभेम्बरसम्मका लागि पुराइएको छ । जसका कारण अमेरिकामा पुनर्वासको अपेक्षामा बसेकाहरु अन्यौलमा परेका छन् ।

अस्थायी रोक नोभेम्बर सम्मका लागि बढाइएपछि अमेरिकामा शरणको प्रकृया पूरा गरेर प्रवेशका लागि ठिक्क पारिएकाहरुका लागि सरकारले बुक गरेका झण्डै ५ सय टिकटपनि रद्द गरिएको छ । जसको भार अमेरिकी करदाताहरुलाई नै परेको छ । किनभने शरणार्थीको रुपमा मान्यता प्रदान गरिएकाहरुको अमेरिका आउने हवाई टिकट पनि अमेरिकी सरकारले नै बेहोर्छ ।

अस्थायी रोक कम्तीमा पनि नोभेम्बर ५ सम्मका लागि बढाइएको छ । अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले शरणार्थी प्रकृयालाई सुचारु गर्नका लागि र स्थगनको समय बृद्धिका कारण अमेरिका आउन ठिक्क परेकाहरुको हवाई टिकट सार्न साझेदारहरुलाई सहकार्य गरिरहेको बताएका छन् ।

अक्टोबर महिनामा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको यो तेश्रो पटक हो । यसअगाडि अक्टोबर २१ सम्मका लागि रोक लगाइएकोमा पछि अक्टोबर २८ सम्मको अवधि थपिएको थियो । अहिले पुन थपेर नोभेम्बर ५ सम्म पुराइएको छ ।

ट्रम्प प्रशासनले अमेरिकामा स्वीकार गरिने शरणार्थीको संख्या घटाएर बार्षिक १८ हजारमा झार्ने प्रस्ताव गरेको छ । पछिल्लो ढिलाईले सिरियन शरणार्थीहरु सबैभन्दा धेरै प्रभावित भएका छन् । झण्डै १२ हजार सिरियनहरुले हालैमात्र शरणार्थी शिविरमा शरण लिएका छन् । राष्ट्रसंघको शरणार्थी नियोगका अनुशार सन् २०१८ मा झण्डै २ करोड शरणार्थीहरु रहेका थिए ।

शरणार्थी ल्याउनमा गरिएको ढिलाईबाट सुरक्षा र स्वास्थ्य जाँचको म्याद सकिन लागेका शरणार्थीहरु पनि प्रभावित भएका छन् । अमेरिकामा शरणार्थी कार्यक्रम यस अगाडि पनि स्थगन गरिएको थियो । सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी स्वीकारमा अस्थायी रोक लगाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com