नेपालको समृद्धिमा चीन र भारतको साथ छ : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताउनुभएको छ ।

महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आज आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकको विकास चासोमा नेपाल परेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासबारे साझा चासो व्यक्त गर्नुभएको प्रचण्डको भनाइ थियो ।

नेपालको विकास र समृद्धिका लागि कृषिमा आधुनिकीकरण आवश्यक भएको प्रचण्डको भनाइ छ । “हाम्रो विकास र समृद्धिको मुख्य पक्ष कृषि नै हो”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले भन्नुभयो, “यस कुरालाई हृदयङ्गम गरेर नै नेकपा नेतृत्वको सरकारले तराईका फाँट÷फाँटमा सिँचाइ पु¥याउन सुनकोशी–कमला र सुनकोशी–बाग्मती डाइभर्शन योजना अघि सारेको हो ।”

कार्यक्रममा अध्यक्ष प्रचण्डले आउने मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका जनतालाई नेकपाको पक्षमा मतदान गर्न पनि अपिल गर्नुभयो । जनतासँग सधैँ आफ्नो पार्टी साथ रहने प्रचण्डको भनाइ थियो । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र मटिहानी तथा बलवा नगरपालिकाका गरी तीन वटा वडाका वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये धेरैजसो नेकपाले शुरु गरेको दाबी गर्नुभयो । जनताको साथ लिएर आफ्नो पार्टी नेतृत्वको सरकार समृद्धि अभियानमा निरन्तर जुटिरहेको पौडेलले बताउनुभयो ।

त्यसैगरी समारोहलाई सम्बोधन गर्दै सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी एक वर्षभित्रै मुलुक पूर्ण साक्षर घोषणा गरिने गरी काम भइरहेको बताउनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मैथिली भाषाका महाकवि विद्यापतिको स्मृतिमा उहाँको कर्मस्थल महोत्तरीको पिपरा गाउँपालिकाको दनौलीबनौलीमा रमणीय पार्क बनाउने प्रतिबद्धता जनाउनुभयो ।

नेकपाले उपनिर्वाचनलाई लक्षित गरी शुभकामना आदानप्रदान नाम दिएर आयोजना गरेको जनसभालाई नेकपाका केन्दीय सदस्यहरु रामदयाल मण्डल, रामकुमार शर्मा र पार्टीका प्रदेश–२ अध्यक्ष प्रभु साहसहितले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम नेकपा महोत्तरी इन्चार्ज तथा केन्द्रीय सदस्य राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com