एमालेको अभियान विथोल्ने मधेसी मोर्चाको घोषणा,ओली आउने दिन हड्ताल


प्रकाशित मिति : फाल्गुन २०, २०७३ शुक्रबार

नेकपा एमालेले सुरु गर्ने भनिएको मेची–महाकाली अभियान विथोल्ने मधेसी मोर्चा सप्तरीले घोषणा गरेको छ । मोर्चाले शुक्रवार सप्तरीको विभिन्न गाउँ तथा बजारमा एमाले अध्यक्ष केपी ओली विरुद्ध माइकिङ गर्दै कार्यक्रम विथोल्ने घोषणा गरेको हो । ‘मधेस र मधेसी विरोधी केपी ओलीको प्रतिकार गरौं, मधेसी जनतालाई अपमान गर्ने एमाले अध्यक्ष ओलीको आगमनलाई विफल गरौं’ भन्दै माइकिङ र मोटरसाइकल र्‍याली समेत निकाल्यो ।

मोर्चाले यसअघि नै प्रेस विज्ञप्तिमार्फत् फागुन १९ गतेदेखि विरोध स्वरुप आ–आफनो घर तथा सवारी साधनमा कालो झण्डा बाँधेर विरोध प्रदर्शन गर्ने, विभिन्न गाविस तथा प्रमुख बजारहरुमा कोणसभा र भण्डाफोर अभियान सञ्चालन गर्ने, २२ गते सप्तरीको कञ्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र बोदे बर्साइन लगायतका स्थानहरुमा मसाल जुलुस प्रदर्शन गरिने जनाएको छ ।

त्यस्तै, फागुन २३ गते सप्तरीमा चक्काजाम गर्ने, कञ्चनपुर, भारदह, राजविराज र रुपनीमा विहानैदेखि लाठी जुलुस प्रदर्शन गर्ने, केपी शर्मा प्रधानमन्त्री हुँदा भएको मधेस आन्दोलनमा प्रहरीले गरेको दमनको फोटोसहितको व्यानर झुण्ड्याइने जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com