डिभी भर्न पासपोर्ट अनिवार्य भएपछि पासपोर्ट आवेदन दिनेको ओइरो, एकदिनमा ३ हजार आवेदन


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य भएपछि राहदानी विभागमा पासपोर्ट बनाउनेको भींड ६ गुणाभन्दा धेरै बढेको छ । विगतमा दैनिक बढीमा ५ सयले पासपोर्टका लागि आवेदन दिने गरेकोमा सोमबार आवेदनको संख्या झन्डै ३ हजार पुगेको अन्नपूर्ण पोष्टमा प्रकाशित रिपोर्टमा जनाइएको छ ।

पासपोर्ट बनाउनेको भींड अस्वभाविक रुपमा बढेपछि परराष्ट्र मन्त्रालयले थप १० कर्मचारी काजमा खटाएको छ। डिभी लोटरी भर्ने म्याद नोभेम्बर ५ सम्म रहेकाले त्यो भन्दा अगाडि नै पासपोर्ट आवश्यक भएको भन्दै आवेदकको भींड लागेको छ ।

गत शुक्रबार १ हजार ८ सय ५५ जनोको आवेदन परेकोमा आइतबार २ हजार ६ सय ६२ पुगेको र सोमबार झण्डै तीनहजार पुगेको छ । यो भीड २०१० को डिसेम्बर २६ पछिको सर्वाधिक रहेको जनाइएको छ । त्यति बेला हस्तलिखित राहदानी विस्थापन गरी मेसिन रिडेबल पासपोर्ट सुरु गर्दा दैनिक ३ हजार ४ सयसम्म आवेदन परेको थियो।

राजस्व १५ हजार तिरे आवेदन दिएकै दिन, १२ हजार तिरे भोलिपल्ट र १० हजार भए पर्सिपल्ट पासपोर्ट उपलब्ध गराइन्छ। जिल्लामा ५ हजार रुपैयाँ लिएर २० दिनभित्र पासपोर्ट उपलब्ध गराइन्छ । विभागले जिल्ला र विदेशस्थित नियोगबाट आएका आवेदनअनुसार पासपोर्ट बनाएर पठाउने गरेको छ। विभागका लागि मन्त्रालयले एउटा गाडी पनि थप गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com