तोडिएको इन्सुरेन्सबाट करोड दिलाउन सफल भए कृष्ण


प्रकाशित मिति : फाल्गुन १९, २०७३ बिहीबार

न्युयोर्क निवासी तनहुका २२ बर्षीय युवा असिम देवकोटाले अमेरिकामा झण्डै १ करोड रुपैया प्राप्त गरेका छन् । केही महिना अगाडि बुबाको हृदयघातबाट मृत्यु भएपछि तोडिसकिएको विमा पोलिसीबाट समेत विमा कम्पनीले असिमलाई झण्डै १ करोड रुपैया प्रदान गरेको हो ।

असिमका बुबा शैलेन्द्र देवकोटाले न्युयोर्क लाइफ इन्सुरेन्समा जीवन विमा गरेपनि मृत्यु हुने ताका उनले विमा तोडिसकेका थिए । न्युयोर्क लाइफ इन्सुरेन्सका प्रतिनिधी कृष्ण पोखरेलको सहयोगमा तोडिसकिएको विमाबाट समेत शैलेन्द्र देवकोटाको परिवारले ९८ हजार १ सय २७ डलर ९५ सेन्ट प्राप्त गरेका हुन् । शनिवारको विनिमयदर अनुशार यो १ करोड ५ लाख २१ हजार १ सय ७६ नेपाली रुपैया हो ।

प्राप्त रकमलाई असिमले बुबाको उपहार भएको बताएका छन् । उनले बुबाको मृत्युपछि अमेरिकाबाट नेपालमा शव पठाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनले आफूले अपेक्षा नगरेको रकम प्राप्त गरेको भन्दै यो रकम सदुपयोग गर्ने बताएका छन् ।

असिमले जीवन बिमाको महत्व आफूले अहिले राम्रोसँग बुझेको बताउँदै अमेरिकामा रहेका अरु नेपालीहरुलाई पनि जीवन बिमा गर्न सुझाव दिएका छन् । न्युयोर्क लाइफ इन्सुरेन्सका प्रतिनिधि कृष्ण पोखरेलले पनि अमेरिकामा रहेका नेपालीले जीवन विमा गरेमा मृत्यु पश्चात दाहसंस्कारका लागि चन्दा उठाउनुपर्ने अवस्था नआउने बताएका छन् ।

पोखरेलले खसोखाससँग कुराकानी गर्दै भने, ‘जीवन विमा गर्नुहोस् । आफूलाई मन परेको पोलिसी लिनुहोस् । मृत्युपश्चातमात्र होइन जीवित छँदै पनि काम लाग्छ । मबाट नलिए अरुबाट लिनुहोस् । तर बिमा अवश्य लिनुहोस् । ’

तोडिसकेको इन्सुरेन्सबाट पनि रकम दिलाउन सफल भएँ

– कृष्ण पोखरेल, एजेन्ट, न्युयोर्क लाइभ इन्सुरेन्स

तोडिसकेको इन्सुरेन्सबाट पनि शैलेन्द्र देवकोटाको परिवारले रकम प्राप्त गर्न कसरी सम्भव भयो ?

उहाँले सन् २०१२ को जुनतिर इन्सुरेन्स लिनुभएको थियो । सन् २०१६ सम्म उहाँले नियमित रुपमा इन्सुरेन्सको रकम तिर्नुभयो । बीचमा इन्सुरेन्सका बारेमा नेपाली समुदायमा विभिन्न विवाद आएपछि रकम डुब्ने हो कि भन्ने चिन्ता उहाँमा थियो । उहाँले सम्पर्क पनि गर्नुभएको थियो । हामीले छलफल पनि गरेका थियौं । आफूलाई नगद चाहिएको बताएपछि मैले उहाँलाई इन्सुरेन्स नतोड्न तर क्यास भ्यालु निकाल्न सुझाव दिएको थिएँ । त्यसपछि उहाँले क्यास भ्यालुका रुपमा जम्मा भएको झण्डै चारहजार डलर निकाल्नुभएको थियो । त्यसपछि अगस्तको ११ तारिखसम्म उहाँले प्रिमियम तिर्नुभएको थियो । त्यसपछि तिर्नुभएन । जम्मा भएको क्यास भ्यालु पनि निकालेको र प्रिमियम पनि तिर्नुभएको थिएन । ३० दिनको समयसम्म प्रिमियम नतिरेपनि पोलिसी कायम हुने भयो । जस अनुशार सेप्टेम्बर ११ सम्म पोलिसी कायम नै थियो । इन्सुरेन्सबाट आएका पत्रहरु पनि उहाँको पहिलेकै ठेगानामा गए । तर उहाँले त्यसको पनि रेस्पोन्स नगरेपछि पोलिसी समाप्त भएको अवस्था थियो । अक्टोबर ९ मा उहाँको निधन भयो । प्रिमियम नतिरेपनि पैसा निकालिसकेपछि बचेको डिभिडेन्टको निश्चित रकमका कारण कम्पनीले कन्सिडर गर्यो ।

पोलिसी समाप्त भइसकेपछि पनि इन्सुरेन्स बापत पाउने रकम निकाल्न तपाईले के पहल गर्नुभयो ?

उहाँको निधनपछि म अफिसमा आएर फर्म बनाएँ । म्यानेजरहरुलाई पनि यसबारे बताएँ । सबै विवरणसहित मैले कम्पनीलाई जानकारी गराएँ । मेनेजिङ पार्टनर र कम्पनीको साथीहरुले सहयोग गर्नुभयो । उहाँको परिवार अमेरिकामा कोही पनि नभएको र मृत शरिर नेपाल पठाउन पनि गोफण्ड बनाउने अवस्था आएपछि मैले कम्पनीलाई सबै विवरणसहित अनुरोध गरेको थिएँ ।

नेपालीको अमेरिकामा निधन हुँदा चन्दा संकलन गर्नुपर्ने अवस्था छ । दाहसंस्कारका लागि इन्सुरेन्सले कभर गर्दैन ?

गर्छ । यदि इन्सुरेन्स छ र अचानक कसैको निधन भएमा इन्सुरेन्स कम्पनीले दाहसंस्कारका लागि लाग्ने खर्च दिन सक्छन् । तर जसको नाममा इन्सुरेन्सको फाइदाका लागि नाम लेखाइएको छ, त्यो व्यक्तिले लेख्नुपर्ने हुन्छ । तर शैलेन्द्र देवकोटाको सन्दर्भमा त्यो अवस्था थिएन । एकतिर इन्सुरेन्स पनि तोडिएको र उहाँको छोरा पनि अमेरिकामा नरहेको अवस्था थियो । त्यसैले गोफण्डबाट रकम संकलन गरेर मृतशरिर नेपाल पठाउनु परेको थियो । यतिबेला जोसुकैबाट भएपनि इन्सुरेन्स लिन जरुरी छ भन्ने सन्देश हामीले दिन जरुरी छ ।

तर इन्सुरेन्सका नाममा ठगीका घटनाहरु भएपनि इन्सुरेन्स तोड्ने क्रम बढ्यो नि ?

पहिले भर्जिनियाबाट यो कुरा निस्क्यो । अनि अन्य शहरमा पनि यो फैलियो । इन्सुरेन्स ठगी हो भन्ने खालका विषय बजारमा आए । केही कमी कमजोरी अवश्य छन् । केही एजेण्टहरुले व्यक्ति विमानस्थलबाट आउनासाथ लगेर इन्सुरेन्स किन्न लगाउने, आफूले पैसा दिएर बैंक एकाउन्टबाट पैसा राखिदिने, लाइसेन्स नलिइकनै इन्सुरेन्स बेच्ने लगायतका काम भए । तर अमेरिकामा व्यवसायिक रुपमा काम नगर्दा र खराब काम गर्दा टिक्न सक्दैन भन्ने बुझ्न जरुरी छ । त्यो नबुझ्दा नराम्रा कुराहरु बाहिर आए ।

तपाई कहिलेदेखि इन्सुरेन्स गराउने काममा सकृय हुनुहुन्छ ?

म सन् २००९ को अन्त्यदेखि यसमा सकृय छु । यो दौरानमा मैले १२ सय जतिलाई सेवा दिइरहेको छु । जसमध्ये झण्डै चालिस प्रतिशत नेपालीहरु हुनुहुन्छ । कुनै घटना भएर इन्सुरेन्सको रकम मेरै हातबाट नेपालीलाई प्रदान गरेको यो तेश्रोपटक हो । यसअघि दुईजना नेपालीलाई प्रदान गरिसकेका छौं ।

आफ्नो र परिवारको लागि इन्सुरेन्स गर्नुहोला

-असिम देवकोटा, शैलेन्द्र देवकोटाका छोरा

शैलेन्द्र देवकोटाको निधन पछि तपाईहरुलाई इन्सुरेन्सबाट कति रकम प्राप्त भयो ?

मैले झण्डै ९८ हजार अमेरिकी डलर प्राप्त गरें । पोलिसी तोडिएको अवस्था थियो । तर कृष्ण पोखरेलजीले कम्पनीलाई पत्र लेख्नुभयो । धेरै पहल गर्नुभयो । पछि कम्पनीले स्वीकृत गरेपछि त्यो रकम प्राप्त गर्न सफल भयौं ।

कति समय लाग्यो रकम पाउन ?

आवेदन दिएको दुईसातामा नै स्वीकृत भयो । त्यसपछि हामीले रकम प्राप्त गर्न सफल भएका छौं ।

आशा नगरेको रकम पाउँदा कस्तो लाग्यो ?

यसबाट हाम्रो परिवारलाई धेरै सपोर्ट हुनेछ । बाबाले दुख गर्नुभयो । त्यो अनुशार यो रकम पाएका छौं ।

इन्सुरेन्सबारे अमेरिकामा रहेका नेपालीलाई के भन्नुहुन्छ ?

इन्सुरेन्स सबैले गर्नुपर्छ भन्ने बुझें । मान्छेले परेपछि बुझ्ने रहेछ । इन्सुरेन्स गरेपछि आफूलाई केही भएमा परिवारलाई निकै सपोर्ट हुने रहेछ । अन्त्यमा, बुबाको मृतशरिर नेपाल पठाउन सयहोग गर्ने सबैलाई धन्यवाद । आफ्नो र आफ्नो परिवारका लागि इन्सुरेन्स अवश्य गर्नुहोला ।

खसोखास साप्ताहिकको बर्ष ६, अंक ७, पूर्णांक २५८ मा प्रकाशित । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com