गर्छु होइन, अब गरेँ ः प्रधानमन्त्री


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताउनुभएको छ ।

सत्तारूढ नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको आज प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब कामका लागि खाडी वा विदेश जानु पर्दैन । त्यस्तो वातावरण र मनस्थिति छाडेर देशमै केही गर्न सबै उत्रनुपर्छ । पहिले पहिले पनि सरकार थिए तर पाइपलाइनबाट अमलेखगञ्जमा किन तेल झरेन ? त्यसकाण अब गर्छु होइन गरेँ भन्दैछु ।”

उहाँले मुलुकका ५७ लाख चर्पी निर्माण भएर खुला दिसामुक्त राष्ट्र घोषणा भएको र अन्य विकास निर्माणका काम भइरहेको विषयलाई पनि देख्न कलाकर्मीलाई आग्रह गर्दै सामाजिक सुरक्षा कार्यक्रम, तुइन विस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र सयौँ पुल निर्माण भएको र अब नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालिएको जानकारी दिनुभयो ।

“किनारामा बसेर कुरा काट्ने प्रवृत्ति छ तर सरकारले गरेका एक वर्षपछिका कामहरु इतिहासमा मानिसहरुले नसुनेका कामहरु भएका छन्”, प्रधानमन्त्री ओलीको भनाइ थियो, “कमलरी उन्मूलनको प्रस्ताव हामीले दर्ता गरेका थियौँ । कमलरीको जीवन व्यतित गर्नेहरु अहिले संसद्मा पुगेका छन् । परिवर्तन यही हो । सयौँ वर्षदेखि जनतालाई लुटेर खाएर आफू जमीनदार भएर बसेको स्थितिमा गरिबी उन्मूलन हुनका लागि केही समय लाग्नु अन्यथा होइन ।” उहाँले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गर्नुभयो ।

हाल कक्षा ११ अध्ययनरत चौधरीलाई प्रधानमन्त्री ओलीले विद्यावारिधिसम्म हासिल गर्न शुभकामना दिनुभयो । नेकपा संसदीय दलका सचेतक चौधरीले आफूले गरिबीका कारण पढ्ने र खेल्ने उमेरमा बाबुआमाको साथ नपाई जमीनदारको घरमा श्रम गर्नु परेका सङ्घर्षका क्षणहरु समेटेर रचना गरिएको बताउनुभयो । चार गीतको एल्बममा बद्री पङ्गेनी, शिशिर योगी, अञ्जु पन्त लगायतको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत छ । चौधरीको ‘कमलरीदेखि सांसद्सम्म’ पुस्तक प्रकाशित छ ।
–––


Discover more from KHASOKHAS

Subscribe to get the latest posts sent to your email.

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com

Discover more from KHASOKHAS

Subscribe now to keep reading and get access to the full archive.

Continue reading