संशोधन प्रस्ताव पारित गराइछाड्छाैँ :कांग्रेस


प्रकाशित मिति : फाल्गुन १५, २०७३ आईतबार

नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ ।  तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएको छ ।

सांसदले प्रतिपक्षी नेकपा (एमाले)लगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिनुभयो ।

प्रस्तावमाथि थप पूरक प्रस्ताव आउँछ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले हाल दर्ता भएको प्रस्ताव नै पारित हुने विश्वास व्यक्त गर्नुभयो । एक फरक प्रसङ्गमा सभापति देउवाले राजदूत नियुक्तिको विषय पार्टी केन्द्रीय समितिमा छलफल गर्न आवश्यक नरहेको बताउनुभयो ।

बैठकमा सहभागी काँग्रेस नेता फरमुल्ला मन्सुरले प्रस्ताव ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ प्रस्ताव पारित गर्न काँग्रेस एक ढिक्का भएर लाग्नेछ भन्नुभयो ।

‘मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन र संविधानप्रतिको असन्तुष्टि समाप्त पार्न संशोधन आएकाले’ यसलाई जसरी भए पनि पारित गराउनुपर्ने निष्कर्षमा काँग्रेस पुगेको उहाँको भनाइ थियो । पूरक प्रस्तावका सम्बन्धमा नेता मन्सुरले सत्ता पक्ष सबै दलको सहमतिमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com