स्थानीय निर्वाचन आशङ्काको घेरामा : नेपाल


प्रकाशित मिति : फाल्गुन १४, २०७३ शनिबार

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताउनुभयो ।

एकातिर मधेसी दलको विरोध अर्कोतर्फ सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको बताउनुभयो ।   संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै नेता नेपालले एमाले कुनै पनि हालतमा यसको पक्षमा रहँदैन भन्नुभयो ।

संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती हो उहाँले भन्नुभयो, ‘‘संविधान कार्यान्वयन नभएमा विभिन्न शक्तिले टाउको उठाउन खोजेका छन् । यसलाई परास्त गर्न पनि राजनीतिक शक्तिहरुबीच एकताको खाँचो छ ।’’ रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com