संविधान संशोधन र स्थानीय तहको टुंगो नलागी चुनाव कसरी हुन्छ : नयाँ शक्ति


प्रकाशित मिति : फाल्गुन १३, २०७३ शुक्रबार

नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले सरकारले विद्यमान राजनीतिक समस्या समाधान नगरी चुनाव गर्ने कुरा गरेकाले समस्या ज्यूँकात्यू राखेर चुनाव हुन नसक्ने बताउनुभएको छ । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान संशोधन र स्थानीय तहको टुंगो नलागी चुनाव  हुनै नस्कने दाबी समेत गर्नु भयाे ।

प्रवक्ता देवकोटाले अहिले मुलुकको राजनीति अत्यन्तै जटिल मोडमा पुगेकोले प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै संविधान संशोधनमार्फत सबै असन्तुष्ट पक्षहरुको जायज राजनीतिक माग सम्बोधन गरेर चुनावमा जानुपर्ने बताउनुभयो । उहाँले सरकारले नयाँ संविधान अनुसारको स्थानीय तह संरचनाको टुंगो नलाग्दै, प्रदेशहरुको सीमांकनको विषय निश्कर्षमा नपुग्दै स्थानीय तहको चुनाव घोषणा गरेकोले त्यो घोषणाको भित्री आशयमा प्रश्न उब्जेको दाबी गर्नुभयो ।

‘निर्वाचन घोषणा के का लागि ? घोषणा गर्नकै लागि मात्र घोषणा भएको हो ? सरकारको आयु लम्ब्याउन घोषणा भएको हो ? सत्ता साझेदारी गर्न हो ? अर्को गठबन्धनको अभ्यास गर्नका लागि हो ?’ उहाँले भन्नुभयो – ‘यसले थुप्रै खाले आशंकाहरु जन्माइदिएको छ, सरकारले यसको चित्तबुझ्दो जवाफ दिनुपर्छ र अनिवार्य शर्तको रुपमा रहेको चुनावी वातावरण बनाउनुपर्छ । तबमात्र चुनाव संभव हुन्छ ।’

उहाँले पत्रकारहरुले राखेकाे जिज्ञासा  ‘अहिलेका पारम्परिक राजनीतिक पार्टीहरुले मुलुकको विद्यमान समस्या समाधान गरी देशलाई अगाडि बढाउन नसक्ने बताउँदै यसका लागि नयाँ शक्ति जन्मिएको पनि उल्लेख गर्नुभयो । उहाँले अहिले व्यवस्था परिवर्तनसँगै राजनीतिक एजेण्डाहरु पनि परिवर्तन भइसकेकोले अबको राजनीतिका लागि राजनीतिक नेतृत्व, नीति, व्यवहार, कार्यशैली आवश्यकता रहेकोले अब पुराना राजनीतिक पार्टी र नेतृत्वबाट त्यो अपेक्षा गर्न नसकिने दाबी गर्नुभयो ।

‘परम्परागत शक्तिमा अहिलेको परिवर्तित राजनीतिक एजेण्डाहरुको व्यवस्थापन र कार्यान्वयन गर्ने ल्याकत देखिएन’ उहाँले भन्नुभयो  ‘अहिलेको २१ औं शताब्दीको राजनीतिक एजेण्डा भनेको आर्थिक समृद्धि नै हो र यसलाई पूरा गर्ने पहल डा. बाबुराम भट्टराई र नयाँ शक्तिले लिएको छ । अब हामी त्यो जिम्मेवारी पूरा गर्नेछौं ।’

अहिले देशको राष्ट्रियता नै संकटमा पर्दै गएको प्रसंग उल्लेख गर्दै देशको राष्ट्रियता बचाउन राष्ट्रिय एकताको खाँचो भएकोले पहाडी, मधेशी, थारु, जनजातिलगायत सबै समुदायहरुमा एकता पैदा गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com