कपाल मुण्डन गर्दै राजनीतिज्ञ ?


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

एजेन्सी/ दक्षिण कोरियाको विपक्षी पार्टीका नेतामा यतिवेला कपाल मुण्डन गर्ने होड नै चलेको छ । सरकारको विरोधमा कपाल–मुण्डन गर्ने नेतामध्ये प्रमुख विपक्षी दलका नेता हवाङ कोय आहन पछिल्ला राजनीतिज्ञ हुन् ।

हवाङले राष्ट्रपतिनिवासबाहिर सोमबार साँझ समर्थक र पत्रकारका अगाडि सार्वजनिक रूपमै आफ्नो कपाल मुण्डन गरेका थिए । त्यसअघि पनि अन्य नेताले कपाल मुण्डन गरेका थिए । गत साता दुई महिला सांसदले कपाल खौरिएका थिए ।

उनीहरू तीनैजनाले कानुनमन्त्रीले राजीनामा दिनुपर्ने वा सरकारले बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् । नयाँ कानुनमन्त्री चो कुकको नियुक्तिलाई लिएर विपक्षी राजनीतिज्ञ यतिवेला सांकेतिक विरोधमा उत्रिएका हुन् । मन्त्री चोको परिवारमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ ।कानुनका पूर्वप्राध्यापक तथा वर्तमान राष्ट्रपति मुनजाय इनका विश्वासपात्र चो गतसाता कानुनमन्त्री बनेका थिए ।

उनको परिवारमाथि प्राज्ञिक ठगी र वित्तीय अपराधको आरोप लाग्दासमेत उनलाई मन्त्री नियुक्ति गरिएको आलोचकहरूले आरोप लगाएका छन् । फर्जी कागजात बनाएर आफ्ना छोरीहरूलाई विश्वविद्यालयमा छात्रवृत्ति उपलब्ध गराएको चोकी प्राध्यापकपत्नीमाथि आरोप लागेको छ । पछिल्ला साता अभियोजनकर्ताले चोको घरमा थुप्रैपटक छापा मारिसकेका छन् । फर्जी कागजात बनाएर आफ्ना छोरीले लिँदै आएको सुविधाप्रति गत शुक्रबार चोले ‘युवापुस्तामाझ क्षमायाचना’ गरेका थिए । तर, आफूले न्याय प्रणालीमा सुधार ल्याउन चाहेको उनले बताउँदै आएका छन् ।

चोले गैरकानुनी काम गरेको कुनै प्रमाण नभेटिएको र आरोपकै आधारमा कसैलाई महत्वपूर्ण  नियुक्ति गर्नबाट रोक्दा गलत नजिर स्थापित हुने राष्ट्रपति मुनले बताउँदै आएका छन् । एकपछि अर्को भ्रष्टाचार काण्डले तातेको दक्षिण कोरियामा चोकी पत्नीको अनियमितताले गरम बहस निम्त्याएको त छ नै, उनका श्रीमान्को मन्त्री पदसमेत खोसिने सम्भावना बढेको छ ।

भ्रष्टाचार आरोपमा पूर्वसरकार ढलेको थियो । घुस लिएको र पद दुरुपयोग गरेको अभियोगमा वर्तमान पूर्वराष्ट्रपति पार्क गिउन हायले अहिले जेल सजाय भोगिरहेकी छिन् ।
अहिलेका विपक्षी दलका नेता हवाङ पूर्वराष्ट्रपतिको सरकारमा प्रधानमन्त्री थिए । वर्तमान राष्ट्रपति मुनजाय इनको सरकारलाई चुनौती दिन उनले कपाल मुडेको विरोधीहरूले आरोप लगाएका छन् ।

 किन कपाल नै खौरियो ?
कुनै पनि विषयमा विरोध गर्दा कपाल मुण्डन गर्नु दक्षिण कोरियाको एउटा संस्कृति नै हो । सन् १९६० देखि ७० को दशकमा सैन्य तानाशाहको शासन–अवधिमा पनि असन्तुष्टहरू विरोधस्वरूप कपाल मुण्डन गर्थे । पछिल्ला दशकमा कार्यकर्ता र राजनीतिज्ञले पनि विरोधको सोही शैलीलाई निरन्तरता दिँदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com