महिलाले थुक पनि निल्न नहुने जितिया पर्व !
प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार
मनोज श्रीवास्तव/ जितिया पर्व तराइवासी मधेशी महिलाहरूले मनाएका छन् । कपिलवस्तु जिल्लाका कतिपय मधेसी र थारु समुदायमा आइतबार जितिया पर्व मनाएकाे हाे। व्रतमा थुक पनि निल्न नहुने २४ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ ।
महिलाहरूले जितियालाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त यो मनाउने गर्छन् । यसलाई जिवित पुत्र पर्वको रूपमा पनि मनाइने गरिन्छ । यो पर्वमा खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूका लागि व्रत बस्ने गर्छन् । यसलाई ‘जिमुतवाहन’ व्रत पनि भनिन्छ । सन्तानको सुख शान्ति र चिरायूका लागि यो पर्व मनाउने चलन रहेको छ ।
जितिया पर्व यस कारणले पनि प्रसिद्ध छ की यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु बढ्ने जनविश्वास रहेको छ । जीतमहान गोँसाईुको पूजा गरी कठोर व्रत बस्ने परम्परा छ । त्यही परम्पराअनुसार यो पर्व कपिलवस्तुका मधेसी तथा थारु समुदायका महिलाहरुले पनि मनाउँदै आएका छन् । यस पर्वमा एकाविहानै उठेर नजिकको जलाधार अथवा नदि, पोखरी र ताल तलैयामा गएर स्नान गरी तोरीको तेल र खरु चढाउने परम्परा छ ।
श्रधालुले बर भन्ने बिरुवामा धागो बाँधेर पूजा गर्ने चलन छ । आमाहरुले स्नान गरेर मात्र पर्वको दिन चोखो खानेकुरा सेवन गर्दछन् । यो पर्वलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहेछिन् । भन्ने मान्यता पनि रहेको छ ।
भविष्य पुराणमा वर्णन गरेअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र थिए, उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए । आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार बसी साँझपख जिमुतवाहन, चिल र स्याल विषयक कथा सुन्ने चलन रहेका छ ।
Discover more from KHASOKHAS
Subscribe to get the latest posts sent to your email.









