म्याग्दीमा बाढीले विद्यालयसहित ८ घरमा क्षति, २ बालिका बेपत्ता


प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार

बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढी बस्तीमा पस्दा बुद्ध एकेडेमी विद्यालयसहित ८ घरमा क्षति पुगेको छ ।

बाढीले तीन वटा घर भत्किँदा भाग्ने क्रममा हराएका २ बालिका १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार अहिलेसम्म भेटिएका छैनन् । बाढीका कारण ८ घर परिवार पीडित बनेको र ३१ जना प्रभावित भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घर बाढीले पूर्णरुपमा क्षति पुर्याएको छ । यसैगरी, सेते किसान, विष्णु दर्जी, अनिता परियार, रेशम दर्जी र चमेली परियारको घरसहित ३१ जना प्रत्यक्ष रुपमा प्रभावित भएको प्रहरी नायब उपरीक्षक मरासिनीले बताउनुभयो ।

कोटखोलाले परम्परागत धार परिवर्तन गरी मानववस्ती र विद्यालयतर्फ पसेपछि क्षति पुगेको हो । बुद्ध एकेडेमीको खेलमैदानमा बाढी पसेको र कक्षाकोठा बन्द भएका कारण बग्न नपाउँदा क्षति पुगेको बताइएको छ ।

बाढीकै कारण बुद्ध एकेडेमी नजिकै रहेको ब्लक उद्योगमा समेत क्षति पुगेको छ भने स्थानीयको धानखेत पुरिएको छ । कोटखोलामा ठूल्ठूला रुख तथा दाउरा, ढुङ्गा, माटो र गेगरसहित आएको लेदोले बेनी–हाँडेभीर–बगरफाँट–सुर्केमेला हुँदै बराङ्जा जाने ग्रामीण सडक अवरुद्ध बनाएको छ ।  बाढीबाट विस्थापित र प्रभावितको उद्दार गर्ने, राहत वितरणको काम भैरहेको बेनपा–२, ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले खोज, उद्दार एवं पीडितको व्यवस्थापनका लागि काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बाढीले क्षति पुर्‍याएको खबरलगत्तै गण्डकी प्रदेशका सदस्य विनोद केसी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले स्थलगत रुपमा अवलोकन गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com