संसारकै अग्लो भवन बुर्ज खालिफामा फहराइयो नेपाली झण्डा (भिडियो सहित )


प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार

दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो मानव–निर्मित भवन (८२३ मिटर अग्लो) मा इतिहासमै पहिलो पटक नेपाली झण्डा फहराएको छ ।

त्यस्तै ‘आबुधाबी नेसनल ओइल कम्पनी’ले पनि ७५ औ तल्लाको आफ्नो केन्द्रीय कार्यालय आबुधाबीमा रहेको भवनमा नेपाली झण्डा फहराएको थियो ।

यसैबीच नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा गएको तीन दिनबाट दूतावासमा दीप प्रज्ज्वलन गरिएको छ । बिहीबार दूतावासमा पनि झण्डोत्तोलनसमेत गरिएको थियो । शुक्रबार साँझ यूएईमा रहेका नेपाली संघसस्थाको उपस्थितिमा दूतावास परिसरमा कार्यक्रमसमेत गरिएको थियो ।

यसरी संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा झलमलाउने प्रयास नेपाली दूतावास आबुधाबीले गरेको थियो । आफू राजदुतको रुपमा आएलगत्तै नेपाली पत्रकारसँगको छलफलका क्रममा राजदूत कृष्णप्रसाद ढकालले आफूले सकेको प्रयास गरेर बुर्ज खालिफामा नेपाली झण्डा फहराउने बताउनु भएको थियो ।

शुक्रबार साँझ यूएईको समयअनुसार सात बजेदेखि बिहान १ बजेसम्म झण्डा फहराइएको थियो । भवनको ३ तल्लाबाट ६५औँ तल्लासम्म झण्डै २ सय मिटर लामो नेपाली झण्डा झलमलाएको थियो ।

दुबईको ‘रेडलाइन’ मा चल्ने मेट्रोमा बर दुबई तथा जबिलआलीबाट टनाटन नेपाली आइरहेका थिए । मेट्रोभित्र नेपाली भाषा बोलेको सुन्दा नेपालकै कुनै जमघटमा पुगेको महसुस हुँदै थियो । सबैले नेपाल र नेपाली गौरव तथा पुर्खाको बयान गरिरहेका थिए ।

मेट्रोमा आएको नेपालीको भिड तितरवितर हुँदै आ–आफ्ना तरिकाले संसारको अग्लो भवन बुर्ज खालिफाको आँगनमा पुगे । बुर्ज खालिफाको चारै दिशाका आँगनमा नेपाली नागरिकको बाक्लो उपस्थिति थियो ।

 

त्यसो त त्यो भिडमा विदेशी नागरिक झन धेरै देखिन्थे । सबै आ–आफ्नो सुरमा । शुक्रबार खाडीमा सार्वजनिक बिदाको दिन हुने भएकाले यहाँ कार्यरत धेरै नेपाली दिनभर बर दुबई तथा आसपासमा जमघट गरी कोठा फर्किन हतारै भए पनि बुर्ज खालिफाको आँगन टेकेका थिए । बुर्ज खालिफाको काखैमा टाँस्सिएको दुबई मल, आडैमा छेकेर ल्याएको सामुन्द्रिक तट, पारीपट्टिको शुक अल बहार (पुरात्वात्विक बजार क्षेत्र)मा कार्यरत नेपाली सबैका आँखा बुर्ज खलिफामा केन्द्रित थिए ।

नेपालीहरु त्यसरी बुर्ज खालिफाको आगनमा पुग्नुको एउटै कारण थियो ‘संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा’ फहराउँदै थियो । यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ (१० ९१० बजेर ५५ मिनेट नेपाली समय) मा एक मिनेट चहकिलो सेतो पर्दा बाहिर चन्द्र सूर्य अंकित नेपालको झण्डा चम्कियो ।

आँगनमा भेला भएका नेपालीको ‘हुटिङ’ र उल्लासले त्यहाँको माहोल ऐतिहासिक बनायो । ‘नेपाल नेपाल’ गुञ्जियो । ताली बज्यो । हो।को हल्ला चारैतिर फैलियो । नेपालीका साथै विदेशीले पनि नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसमा खुशीयाली मनाए ।

नेपालसहित दर्जनौं देशका हजारौँ मान्छेले नेपालको राष्ट्रिय झण्डा फरफराएको अवलोकन गरेको विषय अभूतपूर्व भएकोले यूएई सरकारलाई धन्यवाद दिँदै नेपाल र नेपालीको सम्मानमा यूएईले देखाएको सदाशयताकलाई नेपालले सम्मानपूर्वक ग्रहण गरेको उहाँले बताउनुभयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com