अमेरिकामा चिकित्सकको घरबाट दुई हजार बढी मानव भ्रुणका अवशेष बरामद


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

जोलियाट, एपी/ अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ । डा उल्रीच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ ।

विल काउन्टी शेरिफ कार्यालयले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा डा क्लोपफर संलग्न रहेको जनाएको छ । डा उल्रीचको परिवारले भ्रुणका बारेमा प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानमा दुई हजार २४६ वटा सुरक्षित भ्रुण भेटिएको जनाएको छ । तर मेडिकल प्रक्रिया पूरा गरे वा नगरेको भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाई छ । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

डा क्लोपफरको गत सेप्टेम्बर ३ मा मृत्यु भएको थियो । इन्डियानाको साउथ बेन्डमा लामो समयदेखि उनले गर्भपतन सम्बन्धी सेवा प्रदान गरिरहेका थिए । तर सन् २०१५ देखि इन्डियाना राज्यले डा क्लोपफरको क्लिनिकलाई दिएको लाइसेन्स रद्द गरी यो सेवा बन्द गरेको थियो । इन्डियाना राज्यको स्वास्थ्य सेवा विभागले क्लिनिकले सञ्चालन प्रक्रियामा लापरवाही गरेको भन्दै सचेत गराएको थियो ।

स्वास्थ्य सेवा विभागले उक्त क्लिनिकले खासगरी बिरामीको नाम राम्रोसँग नलेख्ने तथा मेडिकल गर्भपतनका नीतिहरु अनुशरण नगर्ने जनाएको थियो । गर्भपतनका बारेमा कम्तीमा १८ घण्टा अघि जनचेतनामूलक तालिम आयोजना गर्नुपर्ने सरकारी नियमलाई समेत उक्त क्लिनिकले बेवास्ता गरेको विभागको भनाई छ । तालिम लिएको विषयलाई राम्रोसँग दस्तावेजीकरण नगरेको र लापरबाही गरेको थियो ।

क्लोपफर इन्डियाना राज्यकै चर्चित गर्भपतन चिकित्सक मानिन्थे । साउथ बेन्ड ट्रिब्युन अखबारका अनुसार धेरै दशकदेखि इन्डियाना काउन्टीका धेरै ठाउँमा उनले हजारौंलाई सेवा दिएका थिए ।

इन्डियानाका जीवनको अधिकार भन्ने संस्थाका अध्यक्ष माइक फिच्टरले एक वक्तव्य प्रकाशन गरी भन्नुभएको छ, “डा क्लोपफरको इलिनोइज क्लिनिकमा हजारौं भ्रुणको अवेशष पाइएको खबरले हामीलाई त्रसित बनाएको छ ।” उहाँले यी भ्रुणसँग इन्डियाना राज्यमा गरिएका गर्भपतनको कुनै सम्बन्ध रहे नरहेको खोजी गर्नुपर्ने बताउनुभयो ।

फिच्टरले गर्भपतनले अमेरिकामा उद्योगको रुप लिएकाले यसलाई गम्भीर छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । यस घटनाका बारेमा इन्डियाना राज्यका गभर्नर एरिक होल्कोम्बको प्रतिक्रिया लिन खोजिए पनि सम्भव भएन ।

गर्भपतनसम्बन्धी सरकारी नियमहरुको पूर्ण पालना नगरेको, कर्मचारी नराखेको तथा गर्भपतन अघि–पछि सेवा नदिएको भन्दै सन् २०१६ को नोभेम्बरमा इन्डियानाको मेडिकल लाइसेन्सिङ बोर्डले क्लोपफरको लाइसेन्स ९अनुमति पत्र० निलम्बन गरेको थियो ।

डा क्लोपफरले त्यसयता गर्भपतन सेवा बन्द गरेका थिए, तर उनले बोर्ड समक्ष आफ्नो ४३ वर्षको सेवा अवधिमा एक जना बिरामीको पनि ज्यान नगएको बताएका थिए ।

इन्डियाना राज्यमा रिपब्लीकन पार्टीकी सांसद ज्याकी वालोस्र्कीले पछिल्लो घटनाको पटाक्षेपले आफूलाई अत्यन्त दुःखित बनाएको बताउनुभएको छ ।

गत मे महिनामा अमेरिकी सर्वोच्च अदालतले गर्भपतन सम्बन्धी इन्डियाना राज्यको कानुनलाई सदर गरेको थियो जसमा गर्भपात गरिएको भ्रुणका अवशेष संग्रह गर्न नपाइने र त्यसलाई विसर्जन गर्नुपर्ने व्यवस्था छ । उक्त कानुनमा सन् २०१६ मा उपराष्ट्रपति माइक पेन्सले हस्ताक्षर गर्नुभएको थियो । त्यस बखत उहाँ इन्डियाना राज्यका गभर्नर हुनुहुन्थ्यो । तर यस विरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com