Follow @khasokhasmag

गोठालोबाट लखपति बनेका ‘इलामे राई’


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

– टीका खतिवडा

झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसक्नुभएको छ । लेकको बसाइ, लगाएका कपडा र उहाँको हाउभाउले उहाँलाई हेर्ने जोकोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो तर दुई वटा गाडी र दार्जिलिङमा घर जोडिसक्नुभएका राई हेर्दा देखेजति सामान्य हुनुहुन्न ।

हुन त हाम्रो समाजमा राम्रो लगाउने र सामान्य अङ्ग्रेजी मिसाएर बोल्नेलाई इज्जत गरिन्छ । अनि ठूलै हैसियतको भन्ने ठानिन्छ । त्यसै भएर राईलाई नियाल्ने जो कोहीले पनि सामान्य ठान्ने गरेका छन् । अर्को कुरा त पैसाले हैसियत र इज्जत दिन्छ भन्ने मान्यता छ हाम्रो समाजमा ।

राईलाई हालसम्मको दुःख र सङ्घर्षले नै यहाँसम्म ल्याएको छ । इलामको पुवामझुवामा जन्मिनुभएका इलामे राईको वास्तविक नाम जगतबहादुर राई हो । तर उहाँको यो नाम धेरैलाई थाहा छैन । धेरैले उहाँलाई इलामे राई नै भनेर चिन्छन् ।

घरमा दुःख भएपछि करीव १० वर्षकै उमेरदेखि अर्काको घरमा गोठालो बसेका राई विभिन्न ठाउँमा अर्काको काम गर्दागर्दै विसं २०५३ बाट मात्र स्थायीरूपमा बसोबास गर्न थाल्नुभएको हो । इलाम सूर्योदय नगरपालिका–१ को लामिधुरामा उहाँको स्थायी बसोबास छ । लेकको ठाउँमा गोठ पालेर बस्नुभएका उहाँ गाईको आम्दानीबाट नै लखपति बन्नुभएको हो ।

“घरमा दुःख थियो, खान लाउन पनि पुग्दैनथ्यो, बाउले आलु व्यापार गर्थे तर १० रुपैयाँमा किनेको आलु आठ रुपैयाँमा बेच्थे, भारतसँगको सीमा मानेभञ्ज्याङबाट प्रतिमन रु १० रुपैयाँमा खरीद गरेको आलु इलामको चुरेघाँटीमा आठ रुपैयाँमा बिक्री भएपछि तनाव बढेको थियो, आफू त सानै थिएँ, बाउलाई यसो नगरौँ भन्दा मानेनन् अनि घर छोडेर हिँडे”, राईले हाँस्दै भन्नुभयो ।

घर छोडेपछि इलामको सुम्बेकमा पुग्नुभएका उहाँले वर्षको ६० रुपैयाँ पाउने गरी अर्काको घरमा गोठालो गर्नुभयो । १२÷१३ वर्षको उमेरमा गाईवस्तु दोइसकेपछि थला भकारा सोहोर्नु, घाँस काटेर ल्याउनु गर्दै उहाँको बिहानको कार्य शुरु हुन्थ्यो । दिउँसो पनि मेलाको काम, बेलुका पुनः गाई धन्दा नै गर्नुपर्ने राईले स्मरण गर्नुभयो । अहिलेका बालबच्चालाई तुलना गर्दै राईले सो बेला आफ्नो मेहनत र दुःखका दिन सम्झनुभयो । करीब दुई वर्ष त्यहाँ बसेपछि पुनः इलामको जस्बिरे भन्ने ठाउँमा सर्नुभयो । त्यहाँ वर्षको रु १६० मा गोठालो गर्नुभयो राईले । उहाँको दैनिकी यसैगरी शुरु भयो । करीब १५, १६ वर्षको उमेर भएपछि उहाँले त्यहाँ पनि छोड्ने निधो गर्नुभयो । त्यसपछि नेपाल र भारतको सिमाना लामिधुरामा बसाइँ सर्नुभयो । लेकको ठाउँ सिमसिम पानी परिरहने भए पनि त्यहीँ भविष्य खोज्ने निधो गरेर त्यहाँका चुथ्रो फाँड्न शुरु गर्नुभयो । हालको सूर्योदय नगरपालिका–१ मा पर्ने लामिधुरामा उहाँले गोठ पालेर नै भविष्य खोज्ने निधो गर्नुभयो ।

विसं २०५३ मा त्यहाँ पुग्दा कुनै बस्ती नभएको उहाँ बताउनुहुन्छ । उहाँले त्यहीँ विवाह गरेर घरजम शुरु गर्नुभयो । पर्यटकीय क्षेत्र र पर्यटकबाट पनि आम्दानी लिन सकिन्छ भन्ने कसैलाई सोच नै नभएको उहाँ बताउनुहुन्छ । लामिधुरा पुग्नुभएका राईले आफ्नै जेठीसासूसँग रु तीन हजार ऋण लिएर चारमाउ गाई खरीद गर्नुभयो । त्यहाँबाट तिनै गाईको सन्तान बढाउँदै जानुभयो । बाच्छाबाच्छी हुर्काउँदै सन्तान फैलिएर करीब २३ माउ गाईसमेत पाल्नुभएका उहाँले सो बेला मज्जाले कमाई भएको स्मरण गर्नुभयो ।

भारतसँग सीमा जोडिएको मानेभञ्ज्याङ इलामको व्यापारिक केन्द्र हो । भारतका व्यापारीले चामल, नून, तेल चिनीलगायत दैनिक उपभोग्य वस्तु सो बजारमा बिक्रीका लागि राख्थे । नेपालतर्फ उत्पादन भएको तरकारी सो बजारमा बिक्री हुन्थ्यो । तरकारी मात्र हैन नेपालको तर्फबाट अलैँची, अदुवा, कुचोलगायत पिठ्यूँ र घोडामा बोकाएर त्यहाँ बिक्रीका लागि लगिन्थ्यो । नेपालका बजारमा भन्दा बढी मूल्य त्यहाँका व्यापारीले दिने भएपछि इलामका विभिन्न क्षेत्रमा उत्पादन भएको बस्तु त्यहाँ पु¥याइन्थ्यो ।

राईले पनि उत्पादन भएको घ्यु सोही बजारमा पु¥याउनुहुन्थ्यो । उबेला छुर्पी खासै बिक्दैनथ्यो । मोही फटाएर बनाएको सेर्गेम भने राम्रो मूल्यमा बिक्री हुन्थ्यो । पछिपछि गएर छुर्पी पनि बिक्न थाल्यो । उहाँले पनि घरमा नै डेरी जोड्नुभयो । डेरीमा दूध प्रशोधन हुन थालेपछि सहज पनि हुन थाल्यो । राई परिवारले गाई पालेर घ्यु र छुर्पी बेचेर नै आफ्नो गुजारा चलाउन थाल्यो । आफूले औपचारिक शिक्षा नलिएको बताउने राई हिसाबकिताब गर्न अझै पनि क्यालकुलेटर नचाहिने बताउनुहुन्छ । तर गोठालो गर्दा नै काठमा रातो माटोको धुलो छरेर त्यसमा नै औँलाले क, ख सिकेको उहाँले बताउनुभयो । लामो समयमा मात्र घ लेख्न सिक्नुभएको उहाँले हिसाब पनि उसैगरी सिकेको बताउनुभयो ।

आफ्नो गुजारा जेजसरी चले पनि एक छोरा र एक छोरीलाई राम्रै शिक्षा दिएको उहाँ बताउनुहुन्छ । हाल उहाँका दुवै छोराछोरी जागिरे भइसकेका छन् । छोरा भारतीय सेनामा छन् भने छोरी पनि दार्जिलिङमा नोकरी गर्छिन् ।

औपचारिक शिक्षाको महत्व हाल पनि धेरै शिक्षितलाई नहुन सक्छ । तर उहाँ औपचारिक शिक्षाको महत्व अरुलाई राम्रोसँग बयान गर्नुहुन्छ । शिक्षाले नै मानिसलाई विश्व चिनाएको, नयाँनयाँ कुराको खोजी र आविष्कार भएको भन्ने राईले आफ्ना सन्तानलाई पनि राम्रो शिक्षा गोठमा गाई पालेर नै दिएको बताउनुभयो । लेकमा अन्य खेती खासै हुँदैनथ्यो उ बेला । आजकल पनि उहाँको पेसा उही नै हो । तर पहिला जस्तो धेरै गाई छैनन् राईको गोठमा । पाँच माउ मात्र गाई पाल्नुभएको छ । तर उहाँले अर्को व्यवसाय भने थप्नुभएको छ ।

राई बसेको लामिधुरा विश्व प्रख्यात पर्यटकीयस्थल सन्दकपुर जाने मूल सडक हो । उहाँले त्यहाँ आएका पर्यटकलाई सन्दकपुरसम्म लैजाने काम गर्नुहुन्छ । पर्यटक घुमाउनकै लागि दुई वटा गाडी जोडेको उहाँले बताउनुभयो । मौसममा दुई वटा गाडी खाली हुँदैनन् राईका । राईकी श्रीमतीले पर्यटकलाई नै खान र बस्नका लागि होटल र लज सञ्चालन गर्नुभएको छ ।

होटल, लज, पर्यटन व्यवसायले गर्दा गाई घटाएको उहाँ बताउनुहुन्छ । गाई पाल्दा पनि बिहान बेलुका मात्र खट्नुपर्छ । गोठमा पालिएका गाई बिहान दोहिसकेपछि चरणमा जङ्गल पस्छन् । बेलुका भएपछि मात्र घर आउँछन् । बिहान बेलुका खोले दिन र दुहुन मात्र समय लाग्ने भएकाले केही गाई गोठमा अझै पनि राखेको उहाँले बताउनुभयो ।

हाल उत्पादन भएको घ्यु प्रतिकिलो रु ५५० र छुर्पी प्रतिकिलो ९०० देखि एक हजारसम्ममा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । राईले आफ्नो मात्र हैन अरुले उत्पादन गरेको घ्यु छुर्पी पनि खरीद गरेर बजार लगेर बेच्ने गर्नुहुन्छ । पहिला सानो छँदा अर्काको घरमा गोठालो बसेको र हाल आफ्नो व्यवसाय सम्झिएर उहाँ खुशी देखिनुहुन्छ । तर दुःखका साथ परिश्रम गरे पैसा कमाउन विदेश जान नपर्ने उहाँको भनाइ छ ।
–––

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com