ग्रिनकार्डबाहकका सबै दम्पत्ति र छोराछोरीका लागि सेप्टेम्बरमा पनि भिसा करेन्ट - KHASOKHAS

ग्रिनकार्डबाहकका सबै दम्पत्ति र छोराछोरीका लागि सेप्टेम्बरमा पनि भिसा करेन्ट

अमेरिकी ग्रिनकार्ड बाहकका दम्पत्ति र छोराछोरीका लागि सेप्टेम्बर महिनामा पनि भिसा करेन्ट भएको छ । ग्रिनकार्डबाहकले अमेरिकामा नै रहेका आफ्ना दम्पत्ति र छोराछोरीहरुका लागि सेप्टेम्बर महिनामा पनि आई १३० आवेदनसँगै ग्रिनकार्ड आवेदन आई ४८५ दिन सक्नेछन् ।

आई ४८५ आवेदन दिइसकेपछि ग्रिनकार्डबाहकका दम्पत्ति र छोराछोरीहरुले वर्क परमिट आवेदन दिएर अमेरिकामा कानुनी रुपमा काम गर्न पाउनेछन् । उनीहरुले विगतमा जस्तो भिसा करेन्ट हुन्जेल पर्खेर विभिन्न तरिकाले आफ्नो गैरकानुनी उपस्थीति हुनबाट बच्ने झन्झट हुनेछैन ।

जुलाईमहिनामा सबै ग्रिनकार्डबाहकका दम्पत्ति र छोराछोरीहरुका लागि भिसा करेन्ट रहेकोमा अगस्त र सेप्टेम्बरमा पनि यसले निरन्तरता पाएको हो । युएससीआईएसबाट आई १३० आवेदन स्वीकृत भइसकेका र केस नेशनल भिसा सेन्टरमा पुगेमा विदेशमा दम्पत्ति र छोराछोरी भएकाहरुको भिसा प्रकृया पनि अगाडि बढाइनेछ ।

तर आई १३० स्वीकृत नभएका तथा दम्पत्ति र छोराछोरी विदेशमा भएकाहरुका लागि भने यसले कुनै अर्थ राख्ने छैन । यद्यपी आई १३० स्वीकृत नभएका तर दम्पत्ति र छोराछोरी अमेरिकामा नै भएकाहरुले भने आई १३० पेन्डिङ अवस्थामा नै रहेका बेला आई ४८५ ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । जसका कारण भिसा जोगाइराख्ने झन्झट हुनेछैन भने त्यसको आधारमा वर्क परमिट वा अमेरिकाबाहिर यात्रा गर्ने एड्भान्स परोल जस्ता सुविधा समेत प्राप्त गर्न सकिनेछ ।

अमेरिकामा ग्रिनकार्डबाहकसँग विवाह गर्ने योजनामा रहेकाहरुका लागि पनि अगस्त र सेप्टेम्बर महिना सुनौलो अवशर मानिएको छ । उनीहरुले विवाहपश्चात आई १३० आवेदनका साथमा एकैपटक आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न सक्नेछन् । आगामी अक्टोबरमहिनापछि भने यो अवस्था कायम नरहने जनाइएको छ ।

बिहिबार, साउन ३०, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP2Social Auto Publish Powered By : XYZScripts.com