यी हुन् १५ बर्षकी रामोस, जसका कारण देशनिकाला हुनबाट जोगिएका छन् ४ लाख


प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार

अमेरिकामा रामोस भर्सेज नेल्सनको मुद्दाका कारण झण्डै ४ लाख आप्रवासीहरु देशनिकाला हुनबाट जोगिएका छन् । ट्रम्प प्रशासनले एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस अन्त्य गर्ने निर्णय गरेपछि त्यसकाबिरुद्ध रामोसका तर्फबाट दायर गरिएको मुद्दाका कारण दशौं हजार आप्रवासीहरु देशनिकाला हुनबाट जोगिएका हुन् ।

नेपालको टीपीएस पनि रामोस भर्सेज नेल्सनकै मुद्दा अनुशार अगाडि बढ्ने सहमति भएका कारण यो मुद्दा झण्डै १० हजार नेपाली टीपीएसबाहक र झण्डै ६० हजार होण्डुरसका टीपीएसबाहकहरु समेत जोडिएका छन् । क्यालिफोर्नियाको अदालतले यो मुद्दामा प्राथमिक आदेश जारी गर्दै टीपीएस अन्त्य गर्नबाट सरकारलाई रोक लगाएपछि उक्त आदेशबिरुद्ध ट्रम्प प्रशासनले पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो । जसको सुनुवाई बुधबार भएको थियो ।

यसरी ट्रम्प प्रशासनलाई चुनौती दिने र झण्डै ४ लाखलाई देशनिकाला हुनबाट बचाउने मुद्दाकी प्राथमिक बादी रामोस १५ बर्षकी किशोरी हुन् । उनको पूरा नाम क्रिस्टा रामोस हो । मुद्दा दायर गर्ने बेलामा उनको उमेर १४ बर्षको मात्र थियो ।

 

क्यालिफोर्नियाको बे एरियामा बस्ने उनी अमेरिकी नागरिक हुन् । तर उनकी आमा एल साल्भाडोरकी नागरिक हुन्, जो अमेरिकामा टीपीएसबाट संरक्षित छिन् । रामोसले उनकी आमा र एल साल्भाडोरका झण्डै २ लाख ६० हजार टीपीएसबाट संरक्षित आप्रवासीहरुलाई देशनिकालाबाट बचाउन आप्रवासी अधिकारका लागि कृयाशिल संस्थाहरुको सहयोगमा मुद्दा दायर गरेकी हुन् ।

क्रिस्टा रामोसकी आमा क्रिस्टिना मोरालेस बाल्यकालमा नै अमेरिका आएकी थिइन् । त्यतीबेला उनी जम्मा १२ बर्षकी थिइन् । अमेरिकामा आइसकेपछि उनले यतै घरजम गरेर क्रिस्टा रामोसलाई जन्माएकी थिइन् । एल साल्भाडोरको टीपीएस अन्त्य गर्ने सरकारले निर्णय गरेपछि क्रिस्टा रामोसका अगाडि दुईवटा विकल्पमात्र बाँकी रहे, एउटा आमा बिना नै अमेरिकामा बस्ने वा आमासँगै अमेरिका छाडेर एल साल्भाडोर जाने ।

त्यसैले क्रिस्टाले ट्रम्प प्रशासनबिरुद्ध अदालत जाने निर्णय गरेकी थिइन् । यो मुद्दामा गत अक्टोबरमा क्यालिफोर्नियाका न्यायाधिस एडवार्ड चेनले प्राथमिक आदेश जारी गर्दै टीपीएस अन्त्यमा रोक लगाएका थिए । क्रिस्टाले यो फैसला त्यतीबेला थाहा पाइन्, जतिबेला उनका पिताले उनलाई गाडीमा हालेर विद्यालय लैजादै थिए । खबर थाहा पाएपछि उनीहरुले खुशीयाली मनाएका थिए ।

पहिले क्रिस्टा सार्वजनिक रुपमा बोल्न डराउँथिन् तर अचेल डराउँदिनन् । क्रिस्टाका एकजना भाई समेत छन् । उनका भाई डिएगो पनि अमेरिकी नागरिक हुन् । पहिले पहिले क्रिस्टा बोल्न लजाउँथिन् भने निकै शान्त थिइन् । तर अहिले भने उनी विभिन्न सार्वजनिक कार्यक्रमहरुमा पनि निर्धक्क बोल्छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com