आधाभन्दा धेरै ग्रिनकार्ड अस्वीकृत गर्ने उद्देश्यको नियम आज औपचारिक रुपमा प्रकाशित


प्रकाशित मिति : श्रावण २९, २०७६ बुधबार

सरकारी सुविधा लिने र लिने सम्भावना हुनेलाई अमेरिकी भिसा र ग्रिनकार्ड अस्वीकार गर्ने सरकारी नियम आज औपचारिक रुपमा फेडरल रजिस्टरमा प्रकाशित भएको छ । अक्टोबर १५ देखि लागु हुने यो नियमले ग्रिनकार्ड र भिसाका आवेदनलाई अस्वीकार गर्नका लागि सहज बनाउँदै अमेरिका आउने आप्रवासीको संख्यालाई नाटकीय रुपमा घटाउनेछ ।

८३७ पृष्ठ लामो उक्त नियमले कानुनी बाटोबाट अमेरिकामा आएर बस्न चाहनेहरुमाथि नियन्त्रण कायम गर्नेछ । नयाँ नियमले कम आम्दानी हुनेहरुलाई अमेरिका आउनमा पहिलेको तुलनामा अझ कठिन बनाउनेछ ।

नयाँ नियमबाट कागजपत्रविहिनहरु प्रभावित हुने छैनन् तर उनीहरुले कुनै उपायबाट ग्रिनकार्ड आवेदन गरेमा भने नयाँ नियमबाट प्रभावित हुनेछन् । यो नियमले कानुनी लडाईको सामना गर्नसक्ने अपेक्षा गरिएको छ ।

नियमको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

नयाँ नियम अनुशार मेडिकेड, फुड स्ट्याम्प लगायतका सरकारी सुविधा लिनेहरुको ग्रिनकार्ड सरकारले अस्वीकार गर्न सक्नेछ । वेलफेयर, फुड स्ट्याम्प, सार्वजनिक आवास वा मेडिकेड जस्ता सुविधा लिने र लिने सम्भावना रहेकाहरुलाई ग्रिनकार्ड वा आप्रवासी भिसा अस्वीकार गर्ने यो नियम कानुनी र गैरकानुनी आप्रवासनलाई नियन्त्रण गर्ने ट्रम्प प्रशासनको नीतिकै एउटा भाग हो । संसदीय प्रकृयामा नगएरै कानुनी आप्रवासनलाई रोक्नका लागि ल्याइएको योजनाको विज्ञहरुले आलोचना गरेका छन् ।

नयाँ नियम अनुशार आधाभन्दा धेरै परिवारमा आधारित ग्रिनकार्डका आवेदन अस्वीकृत हुनसक्ने जनाइएको छ । नयाँ नियम सन् १८८२ को अध्यागमन ऐनमा आधारित छ, जुन ऐन अनुशार अमेरिकी सरकारले अमेरिकामा सरकारी सुविधा खाने सम्भावना भएकाहरुलाई भिसा अस्वीकृत गर्न सक्छ ।

धेरै जसो आप्रवासीहरु ग्रिनकार्ड प्राप्त नगर्दासम्म मुख्य प्रकारका सरकारी सुविधाहरु लिन सक्दैनन् तर नयाँ नियमले पब्लिक चार्जको परिभाषालाई अझ बृहत बनाएको छ जसका कारण धेरैलाई ग्रिनकार्डका लागि अयोग्य बनाउनेछ । नयाँ नियमपछि आवेदन दिंदा आवेदकले आफ्नो उच्च आम्दानी देखाउनुपर्नेछ । त्यस्तै सरकारी सुविधाको सुचीलाई पनि नयाँ नियमले बृहत बनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com