Follow @khasokhasmag

ट्रम्प प्रशासनको नयाँ नियमले आधाभन्दा धेरै ग्रिनकार्ड आवेदन अस्वीकार गर्नसक्ने


प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार

ट्रम्प प्रशासनले सोमबार सार्वजनिक गरेको र अक्टोबरको मध्यदेखि लागु गर्ने नयाँ नियमले भिसाका आधाभन्दा धेरै आवेदनहरु अस्वीकृत गर्ने सम्भावना रहेको छ । खासगरी गरिब परिवारका भिसा र ग्रिनकार्डका आवेदनहरु अस्वीकार गर्न सहज बनाउने उद्देश्यले नयाँ नियम ल्याइएको हो ।

अक्टोबरको १५ देखि लागु हुने उक्त नियम गतबर्षको सेप्टेम्बरमा सार्वजनिक प्रतिकृयाको लागि प्रकाशित गरिएको छ । मंगलबार फेडलर रजिस्टरमा प्रकाशित हुन लागेको यो ८ सय पृष्ठभन्दा लामो नियम अन्तिम नियम भएको जनाइएको छ ।

वेलफेयर, फुड स्ट्याम्प, सार्वजनिक आवास वा मेडिकेड जस्ता सुविधा लिने र लिने सम्भावना रहेकाहरुलाई ग्रिनकार्ड वा आप्रवासी भिसा अस्वीकार गर्ने यो नियम कानुनी र गैरकानुनी आप्रवासनलाई नियन्त्रण गर्ने ट्रम्प प्रशासनको नीतिकै एउटा भाग हो । संसदीय प्रकृयामा नगएरै कानुनी आप्रवासनलाई रोक्नका लागि ल्याइएको योजनाको विज्ञहरुले आलोचना गरेका छन् ।

नयाँ नियम अनुशार आधाभन्दा धेरै परिवारमा आधारित ग्रिनकार्डका आवेदन अस्वीकृत हुनसक्ने जनाइएको छ । नयाँ नियम सन् १८८२ को अध्यागमन ऐनमा आधारित छ, जुन ऐन अनुशार अमेरिकी सरकारले अमेरिकामा सरकारी सुविधा खाने सम्भावना भएकाहरुलाई भिसा अस्वीकृत गर्न सक्छ ।

धेरै जसो आप्रवासीहरु ग्रिनकार्ड प्राप्त नगर्दासम्म मुख्य प्रकारका सरकारी सुविधाहरु लिन सक्दैनन् तर नयाँ नियमले पब्लिक चार्जको परिभाषालाई अझ बृहत बनाएको छ जसका कारण धेरैलाई ग्रिनकार्डका लागि अयोग्य बनाउनेछ । नयाँ नियमपछि आवेदन दिंदा आवेदकले आफ्नो उच्च आम्दानी देखाउनुपर्नेछ । त्यस्तै सरकारी सुविधाको सुचीलाई पनि नयाँ नियमले बृहत बनाएको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com