KHASOKHAS ON GOOGLE NEWS CoronaVirus Fact Checking CoronaVirus News Update CoronaVirus: Stories of Hope CoronaVirus Resource Center File UI or PUA Claim Donate to Khasokhas KHASOKHAS E-MAGAZINE

कोशी टप्पुमा मरेका पशुमा प्राणघातक जीवाणु फेला

प्रकाशित मिति : श्रावण २६, २०७६ आईतबार

चित्राङगत चौलागाईं / कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको घाँसे मैदानमा मृतावस्था भेटिएका करीब चार दर्जन गाईगोरुमा मानिसको समेत ज्यान लिन सक्ने प्राणघातक ‘एन्थ्रेक्स’को जीवाणु फेला परेको छ । तीन दिनअघि मृतावस्थामा फेला परेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्स फेला परेको हो ।

४८ वटा पशु मरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले चौपायामा एन्थ्रेक्सको जीवाणुु फेला परेकाको प्रयोगशालाका प्रमुख डा सञ्जयकुमार यादवले जानकारी दिनुभयो । उहाँले शत्प्रतिशत एन्थे्रक्स नै भएको ल्याब परीक्षणमा देखिएको भन्दै आशङ्का निवारणका लागि मात्रै केन्द्रीय प्रयोगशालामा पठाएको बताउनुभयो ।

एन्थ्रेक्सविरुद्धको खोप आफूहरुसँग नभएकाले केन्द्रमा जानकारी गराइसकिएको बताउँदै डा यादवले खोप आए पनि लगाउन जोखिम भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भ्याक्सिन लगाउन पनि जोखिम छ । पशुमा भ्याक्सिन लगाउँदा सिरिञ्चबाट सर्छ । सुई लगाउनेलार्ई पनि यो जीवाणु सर्ने सम्भावना हुन्छ ।” यादवले यो जीवाणु माटोमा हुने भएकाले यसलाई पहिचान गरेर उपचार गर्न कठिन हुने भन्दै एकै पटक चारदेखि ५०० स्वास्थ्य प्राविधिकलाई परिचालन गरेर उपचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका पशुु चिकित्सक डा मनोजकुमार महतोले प्रयोगशालाको प्रतिवेदन ‘पोजेटिभ’ देखिएकाले एन्थ्रेक्सको थप पुष्टिका लागि मरेका चौपायाबाट सङ्कलन गरिएको रगतको नमूना र प्रयोगशालाको प्रतिवेदन केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाइएको जानकारी दिनुभयो । महतोले विराटनगरस्थित अन्वेषण केन्द्रको ल्याब क्षेत्रीय प्रयोगशालामध्ये उत्कृष्टमा पर्ने भएकाले समेत ‘पोजेटिभ’ पाइएको प्रतिवेदनको सवालमा केन्द्रीय ल्याबको आधिकारिक पुष्टिको पखाइमा रहेको बताउनुभयो ।

बराहक्षेत्र नगरपालिका–९ रहेको आरक्षसँग जोडिएको घाँसेमैदानमा एकसाथ २८ गाई र १६ वटा गोरु मृत भेटिएपछि पशु चिकित्सकले यसअघि नै मरेका चौपायामा एन्थ्रेक्स रोगको सङ्क्रमण रहेको आशङ्का गरिएको थियो । आरक्षभित्रको जङ्गल क्षेत्रमा एन्थ्रेक्सको जीवाणु भेटिएसँगै अर्नासहितका संरक्षित जनावरको अस्तित्वसमेत सङ्कटमा पर्ने देखिएको छ ।

एन्थ्रेक्सको जीवाणु माटोमा लामो समयसम्म रहने भएकाले समेत जोखिम थप बढ्दो अवस्थामा पुगेको चिकित्सकको भनाइ छ । घाँस खाने क्रममा झारपातको तल्लो भागसम्म खाने पशु तथा जनावरमा सङ्क्रमण फैलिने सम्भावना प्रबल रहने डा महतोले बताउनुभयो । घाँससँगै माटो खाँदा त्यसमा रहेकोे जीवाणु शरीरमा प्रवेश गरी फैलिने र जनावरको तत्काल मृत्यु हुुने महतोले जानकारी दिनुभयो ।

Loading...

पूर्वलक्षण विरलै देखापर्ने भएकाले चौपाया मरेपछि मात्र नाक, मुुख, कान र मलद्वारबाट रगत निस्कने गर्छ । डा महतोका अनुुसार केही पशुमा भने सङ्क्रमणपश्चात् तापक्रम बढ्ने तथा ¥याल निस्कने हुन्छ । एन्थ्रेक्स आरक्षका जनावरसँगै आसपासका बस्तीका मानिस तथा चौपाया चराउन आरक्ष पुग्ने गोठालाहरुसमेत प्रभावित हुने देखिएको छ । पशु सेवा विज्ञ केन्द्र इनरुवाका अनुसार जनावरमा जमीनको माटोयुक्त घाँस खाने क्रममा जीवाणु फैलन्छ भने मानवमा श्वास लिँदा नाकबाट र सागपात तथा फलफूल खाँदा जीवाणु सहजै मावन शरीरमा पुग्ने गर्छ ।

रोगका बारेमा बेलैमा जानकारी नहुँदा र उपचार छिटो नभए रोगले ज्यानसमेत लिन सक्ने पशु चिकित्सक महतोले बताउनुभयो । पशु सेवा विज्ञ केन्द्र इनरुवाका अनुसार आरक्ष क्षेत्रमा पशुलाई भ्याक्सिन लगाउने तयारी शुरु गरिएको छ । थप चिकित्सकसहितको टोेली आइतबार सुनसरी आइपुग्नेछ । कार्यालयले आरक्षमा खुला चरिचरन नगराउन भनेको छ । जीवाणु नष्ट गर्र्न उचित मात्रामा औषधि छर्कनेदेखि सो क्षेत्रकोे चरन जलाउनु पर्नेसम्मको अवस्था आउन सक्ने बताएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले अहिलेसम्म औपचारिक रुपमा पशु मर्नाका कारण एन्थ्रेक्स नै भएको जानकारी प्राप्त नभएको बताउँदै आधिकारिक जानकारी आएपछि नियन्त्रण र उपचारका लागि आरक्षको सम्पूर्ण टोली परिचालन गर्ने बताउनुभयो । उहाँले एन्थ्रेक्स भएको हो भने त्यसले आरक्षमा संरक्षित जनावरसँगै मध्यवर्ती क्षेत्रका पशु र मानवका लागि पनि खतरा हुने भन्दै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रजिअ कृष्णबहादुर राउतले आरक्ष छेउमा मरेका पशुमा एन्थ्रेक्सको जीवाणु देखिएको जानकारी प्राप्त भएको बताउँदै त्यसलाई नियन्त्रण गरेर थप क्षति हुन नदिन आसपासका स्थानीय तह, पशु चिकित्सक र सरोकारवालाहरुलाई समेटेर सचेतनासहित नियन्त्रणका सबैखाले उपचारका लागि परिचालनको तयारी भइरहेको जानकारी दिनुभयो ।

भिडियो हेर्नुहोस्

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com