कागजपत्रविहिनलाई काममा लगाएको आशंकामा ५२ सय रोजगारदातालाई आइसको पत्र


प्रकाशित मिति : श्रावण २३, २०७६ बिहीबार

कागजपत्रविहिनहरुलाई काममा लगाएको आशंकामा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ५२ सय रोजगारदातालाई पत्र काटेको छ । दुई चरणको राष्ट्रब्यापी अपरेशनका क्रममा आइसले ती रोजगारदाताहरुलाई आई नाइन अडिट सुचनाहरु पठाएको हो ।

जनवरी देखि अहिलेसम्म उनीहरुलाई त्यस्तो सुचना पठाइएको आइसले जनाएको छ । जुलाई १६ देखि २० सम्मको दोश्रो चरणको अपरेशनका क्रममा मात्र आइसले २७३८ रोजगारदातालाई पत्र काटेको छ भने ३२ जनालाई पक्राउ गरेको छ ।

पहिलो चरणको अपरेशनमा जनवरी २९ देखि मार्च ३० सम्म २५४० लाई पत्र काटिएको र ६१ जनालाई पक्राउ गरिएको आइसले जनाएको छ । आइसले कार्यस्थलमा कागजपत्रविहिनहरुलाई काममा लगाइएकोबारे अनुसन्धान तीब्र पार्ने क्रममा पत्र काटेको जनाएको छ ।

संघीय कानुन अनुशार रोजगारदाताले काममा लगाइएको व्यक्ति अमेरिकामा काम गर्न योग्य भए नभएको प्रमाणिकरण गर्न जरुरी छ । आई नाइन फर्म रोजगार योग्यता प्रमाणिकरणका लागि प्रयोग गरिदै आएको छ ।

आइसका तर्फबाट पत्र प्राप्त गरिसकेपछि रोजगारदाताले तीनदिनभित्र कम्पनीको आइ ९ बनाउन जरुरी हुन्छ । यदि रोजगारदाताले यसो गर्न असफल भएमा आइसका तर्फबाट कारवाही र जरिवान गरिने प्रावधान रहेको छ । कानुनको पालना नगर्ने रोजगारदातालाई आर्थिक बर्ष २०१७ मा ९७ दशमलव ६ मिलियन जरिवाना तोकिएको थियो ।

सन् २०१७ को अक्टोबर १ देखि २०१८ को जुलाई २० सम्म आइसले ६ हजार ९३ बिजनेशहरुमाथि अनुसन्धान गरेको थियो । परिणामस्वरुप ६७५ जनालाई आपराधिक र ९८४ जनालाई कार्यस्थल सम्बन्धित विषयमा पक्राउ गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com