अमेरिकी पासपोर्ट वा ग्रिनकार्डमा क्यानडा जानेले विद्युतीय यात्रा अनुमति लिनुपर्ने


प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार

के तपाईसँग अमेरिकी पासपोर्ट वा ग्रिनकार्डमा क्यानडाको यात्रा गर्ने वा क्यानडाको विमानस्थलमा ट्रान्जिट बनाएर अन्य कुनै देशमा यात्रा गर्ने योजना बनाउनुभएको छ ? यदि त्यस्तो योजना बनाउनुभएको छ भने तपाईले अब क्यानडा जानु अगाडि यात्रा अनुमतिका लागि आवेदन दिन जरुरी छ । यस्तो आवेदन अनलाइनमार्फत दिन सकिन्छ ।

यदि तपाईले अमेरिकी पासपोर्ट वा ग्रिनकार्ड विमानमार्फत क्यानडाको यात्रा गर्दै हुनुहुन्छ वा क्यानडाको विमानस्थलमा ट्रान्जिट बनाएर कतै जाँदै हुनुहुन्छ भने पहिले जस्तो क्यानडाको टिकटकाटेरमात्र सिधा उड्न पाउनुहुनेछैन । तपाईले यात्रा अनुमतिका लागि आवेदन दिएर स्वीकृत भएपछिमात्र क्यानडा जान पाउनुहुनेछ ।

क्यानडाको नियमित भिसा भएकाहरु र सडक वा जलमार्गबाट यात्रा गर्नेहरुलाई भने यस्तो अनुमति लिन जरुरी छैन । क्यानडाले विना भिसा प्रवेशका लागि केही देशका नागरिकहरुलाई सुविधा दिदै आएको थियो तर अब उनीहरुले नियमित भिसा लिन जरुरी नभएपनि यात्रा अनुमतिका लागि भने अनिवार्य आवेदन दिनुपर्छ ।

यदि तपाईसँग ग्रिनकार्ड छ भने यात्रा अनुमति लिनका लागि ग्रिनकार्ड र तपाईको पासपोर्ट तपाईका साथमा हुन जरुरी छ । विमानस्थलमा चेकइनको बेलामा पनि तपाईले यस्तो अनुमतिका लागि आवेदन दिन सक्नुहुन्छ ।

इलेक्ट्रानिक ट्राभल अथोराइजेशनलेमात्र तपाईलाई क्यानडाको भ्रमण गर्नका लागि अनुमति प्रदान नगर्न सक्छ । तपाई क्यानडामा अवतरण भएपछि बोर्डर सर्भिस अफिसरले तपाईको पासपोर्ट र ग्रिनकार्ड हेर्नेछन् । तर तपाईले आफू क्यानडा प्रवेशका लागि योग्य भएको कुरामा अफिसरको चित्त बुझाउन सक्नुपर्नेछ । आपराधिक पृष्ठभूमि, मानवअधिकारको उल्लंघन वा संगठित अपराध गरेको व्यक्तिलाई क्यानडा प्रवेशमा प्रतिबन्ध लाग्नसक्छ ।

तपाईले आवेदन दिनुअगाडि तपाइको क्रेडिट कार्ड, डेबिट कार्ड , पासपोर्ट र ग्रिनकार्ड तयारी अवस्थामा राख्नुपर्छ । त्यसपछि तपाईले अनलाइनमार्फत आवेदन दिन सक्नुहुन्छ । तपाई क्यानेडिन ७ डलर शुल्क तिर्नुपर्छ । प्राय आवेदनहरु केही मिनेटमा नै स्वीकृत हुन्छन् । तर तपाईको आवेदन तत्काल स्वीकृत हुने ग्यारेन्टी हुँदैन । यदि आवेदन तत्काल स्वीकृत नभएमा तपाईले थप कागजात पेश गर्नुपर्ने हुन्छ । कागजात पेश गर्ने सन्दर्भमा तपाईले ७२ घण्टाभित्र इमेल प्राप्त गर्न सक्नुहुनेछ ।

आवेदन स्वीकृत भएमा रिसिप्ट तुरुन्तै प्रिन्ट गर्न जरुरी हुन्छ । अन्यथा तपाईले उक्त रिसिप्ट पछि प्रिन्ट गर्न सक्नुहुनेछैन । तपाईको आवेदन स्वीकृत भएपछि भने तपाईले त्यसको जानकारी नम्बरसहित इमेलमा प्राप्त गर्नुहुनेछ ।

याद गर्नुहोस् तपाईको आवेदन तत्काल स्वीकृत हुने ग्यारेन्टी नहुने भएकाले क्यानडा जाने वा क्यानडाको ट्रान्जिट हुँदै कतै जाने योजना बनाउनुभएको छ भने तपाईले त्यस्तो आवेदन कम्तीमा ७२ घण्टा अगाडि नै दिनु उचित हुनेछ । क्यानडाले यो कार्यक्रम केही महिना अगाडि देखि लागु गरेपनि जानकारीको अभावमा यात्रुहरु समस्यामा पर्ने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com