उत्तर कोरियाको यात्रा गरेकालाई अमेरिकी भिसामा प्रतिबन्ध


प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार

उत्तर कोरियाको यात्रा गरेकाहरुलाई अमेरिकाले आफ्नो देशको भिसामा नयाँ प्रतिबन्ध लगाएको छ । विगत ८ बर्षको अवधिमा उत्तर कोरियाको भ्रमण गरेकाहरुलाई अमेरिकाले भिसा फ्रि इन्ट्रीमा रोक लगाएको हो । सन् २०११ को मार्च १ देखि यता उत्तर कोरिया गएकाहरुमाथि यस्तो प्रतिबन्ध लाग्नेछ ।

अमेरिकाले विश्वका ३८ देशका नागरिकहरुलाई अमेरिकामा ९० दिनसम्म यात्रा गर्नका लागि भिसा सुविधा कार्यक्रम मार्फत भिसा फ्रि इन्ट्री दिदै आएको छ । जसमा दक्षिण कोरिया, जापानदेखि फ्रान्ससम्म रहेका छन् । तर अब ति देशका नागरिकहरुले उत्तर कोरियाको भ्रमण गरेका छन् भने उनीहरुले ९० दिनको भिसा फ्रि इन्ट्री पाउने छैनन् ।

उत्तर कोरियाको भ्रमण गरेकाहरुले अमेरिकी दूतावासमा गएर पर्यटक वा बिजनेश भिसाको आवेदन दिनुपर्नेछ । उत्तर कोरियासहित इरान, इराक, सुडान, सिरिया, लिबिया, सोमालिया र यमनको भ्रमण गरेकाहरुमाथि पनि यस्तो प्रतिबन्ध लाग्ने युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले जनाएको छ ।

यो नयाँ प्रतिबन्धबाट बेल्जियम, जर्मनी, पोर्चुगल युरोपका विभिन्न देशहरु, अष्ट्रेलिया, बेलायत लगायतका मुलुकको पासपाृर्ट लिएका नेपालीहरु पनि प्रभावित हुनेछन् । यद्यपी ती देशको भ्रमण गरेका अन्य देशका व्यक्तिलाई पनि अमेरिकाले भिसामा कडाई गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com