काश्मिरमा भारत सरकार कडा, स्थानीय नेताहरु नजरबन्दमा


प्रकाशित मिति : श्रावण १९, २०७६ आईतबार

श्रीनगर/ भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो ।

नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै निवासमा नजरबन्द गरिएको हो ।

यस अतिरिक्त श्रीनगरमा हिँडडुल गर्न सर्वसाधारणलाई समेत रोक लगाउने गरी ‘धारा १४४’ लागू गरिएको छ । उक्त व्यवस्थासँगै शैक्षिक संस्था बन्द गरिएको छ भने श्रीनगरसहित कश्मीरमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।

पूर्व मुख्यमन्त्री अब्दुल्लाले सर्वसाधारणलाई संयमता अपनाउन आह्वान गरेका छन् । पूर्व मुख्यमन्त्री मुफ्तीले नजरबन्दमा राखिएकोमा आपत्ति जनाउँदै जम्मु कश्मीरको आवाजलाई दबाउने प्रयास भइरहेको बताएकी छन् ।

उता, पाकिस्तानले पनि कश्मीरमा भइरहेको घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ । आइतबार नेशनल सेक्युरिटी कमिटीको बैठकले भारतीय सेनाका तर्फबाट हुने कुनै पनि प्रकारका ‘दुस्साहस’को जवाफ सशक्त ढंगले दिने निर्णय गरेको छ ।

पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा जारी संघर्षको स्थायी समाधान खोजिरहेको समयमा नै भारतले कश्मीरको स्थायी शान्ति बिथोल्न थालेको पाकिस्तानको आरोप छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com