ओबामाको तुलनामा ट्रम्प कार्यकालमा ५० प्रतिशत कम आप्रवासी डिपोर्ट
प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा आप्रवासीलाई देशनिकालाको मुद्दाले निकै प्राथमिकता र चर्चा पाइरहेको छ । तर तथ्यांकले भने ट्रम्पको तुलनामा बराक ओबामा कार्यकालमा कागजपत्रविहिनहरु झण्डै दुईगुणाबढी देशनिकालामा परेको देखाएको छ ।
सन् २०१२ मा ओबामा राष्ट्रपति भएको बखत ४ लाख ९ हजार ८ सय ४९ जना आप्रवासीहरु देशनिकालामा परेका थिए । तर सन् २०१८ मा ट्रम्पको कार्यकालमा जम्मा २ लाख ५६ हजार ८५ जना आप्रवासीहरु अमेरिकाबाट देशनिकाला भएका छन् ।
ओबामा कार्यकालमा आप्रवासीहरु देशनिकालाको संख्याले रेकर्ड ब्रेक गरेपछि उनले डिपोर्टर इन चिफको संज्ञा समेत पाएका थिए । ट्रम्पले कार्यकाल सम्हालेको सन् २००८ मा ३ लाख ६९ हजार २२१ जना देशनिकालामा परेका थिए । त्यसपछि सन् २००९ मा बढेर ३ लाख ८९ हजार ८३४ पुगेको थियो ।

सन् २०१० मा ३ लाख ९२ हजार ८ सय ६२ जना अमेरिकाबाट देशनिकाला भए भने सन् २०११ मा अझ बढेर ३ लाख ९६ हजार ९ सय ६ जना देशनिकाला भए । सन् २०१२ मा त रेकर्ड ब्रेक नै भएर ४ लाख नाघेको थियो ।
त्यसपछि भने देशनिकाला केही कम भएको देखिन्छ । सन् २०१३ मा ३ लाख ६८ हजार ६ सय ४४ जना, सन् २०१४ मा ३ लाख १५ हजार ९ सय ४३ जना, सन् २०१५ मा २ लाख ३५ हजार ४ सय १३ जना र सन् २०१६ मा २ लाख ४० हजार २ सय ५५ जना देशनिकाला भए ।
सन् २०१७ मा २ लाख २६ हजार १ सय १९ जनामात्र देशनिकालामा परे । ओबामा कार्यकालका कुनै पनि बर्षको तुलनामा ट्रम्प कार्यकालको यो संख्या सबैभन्दा कम रहेको थियो । तथ्यांकमा सन् २००८ को आर्थिक बर्ष सेप्टेम्बर ३० मा समाप्त भएको छ भने अन्य बर्षको आर्थिक बर्ष अक्टोबर ५ मा समाप्त भएको छ ।






