अमेरिकामा शरणलाई निरुत्साहित गर्न ५६ हजार एसाइलमका मुद्दा फास्ट ट्रयाकमा


प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार

अमेरिकामा शरणलाई निरुत्साहित गर्नका लागि ट्रम्प प्रशासनले ५६ हजार एसाइलमका मुद्दाहरु इमिग्रेशन अदालतमा फास्ट ट्याकमा राखेको छ । उक्त पाइलट प्रोग्राम बाल्टिमोरदेखि लस एन्जलससम्मका १० वटा शहरमा लागु गरिएको छ । ट्रम्प प्रशासनले तीब्र गतिको सुनुवाईका लागि खासगरी परिवारका अध्यागमन मुद्दाहरु छनौट गरेको जनाइएको छ ।

ग्वाटेमालामा जिउज्यानको खतरा रहेपछि सबै बेचेर १ बर्षकी छोरीसहित अमेरिका आएकी रोसिता लोपेज अमेरिका प्रवेश गर्दा ८ महिनाकी गर्भवती थिइन् । उनको मुद्दा अध्यागमन अदालतमा एकबर्षमै सुनुवाई गरिएको छ । उनको अमेरिकामा नै बच्चा समेत जन्मिएको छ । जुन बच्चा जन्मसिद्ध अमेरिकी नागरिक हो । तर लोपेजको एसाइलम अस्वीकृत गरेर उनलाई अदालतले देशनिकालाको आदेश दिएको छ । उनको मुद्दा तीब्र गतिको सुनुवाईमा राखिएको थियो ।

अमेरिकी अध्यागमन अदालतमा सामान्यता मुद्दाहरुको ब्याकलग चर्को रहेको र बर्षौ कुुर्नुपर्ने बाध्यता रहेको सन्दर्भमा ५६ हजार मुद्दाहरुको तीब्र गतिको सुनुवाई दिइएको हो । तीब्र गतिको सुनुवाईका मुद्दाका सन्दर्भमा विदेशी मुलुकबाट कागजातहरु संकलन गर्न र मुद्दाको तयारी गर्नमा समय नपुगेको अध्यागमन वकिलहरुले बताएका छन् ।

६ महिनाको लागि एसाइलम आवेदन पेन्डिंग अवस्थामा रहेको खण्डमा अमेरिकामा बसेर काम गर्नका लागि वर्क परमिट प्राप्त हुने गर्छ । तर तीब्र गतिको सुनुवाईमा राखिएका मुद्दाहरुका सन्दर्भमा उक्त समयभित्रै मुद्दाको फैसला गरिने भएकाले वर्क परमिट प्राप्त गर्नमा समस्या हुने गरेको छ ।

अमेरिकी अध्यागमन अदालतहरुले तीब्र गतिका सुनुवाईहरु एकबर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ । गत सेप्टेम्बरदेखि जुन महिनासम्म डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ५६ हजार एसाइलमका मुद्दाहरुलाई छानविन गरेर तीब्र गतिको सुनुवाईमा राखेको हो ।

तीमध्ये अधिकांश मुद्दाहरु पेन्डिंग अवस्थामा रहेको र ५ जनामा एकजना आफ्नो सुनुवाईमा उपस्थीत नभएका कारण देशनिकालाको आदेश प्राप्त गरेको तथ्यांकले देखाएको छ । अध्यागमन अदालतमा अन्य मुद्दाको तुलनामा परिवारका मुद्दाहरु तीब्र गतिमा अगाडि बढाउने गरिएको छ ।

हाल अमेरिकी अध्यागमन अदालतमा झण्डै ९ लाख मुद्दाहरु पेन्डिंग अवस्थामा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com