परिवारमा आधारित केही ग्रिनकार्डका लागि अब अमेरिका आएर कुर्न नपाइने


प्रकाशित मिति : श्रावण १७, २०७६ शुक्रबार

अमेरिकी सरकारले निश्चित प्रकारका केही ग्रिनकार्डका लागि अब अमेरिकाभित्र बसेर कुर्न पाउने सुविधा खारेज गरिदिएको छ । केही देशका व्यक्तिलाई अमेरिकी सरकारले परिवारमा आधारित अमेरिकी ग्रिनकार्डको आवेदन आई १३० स्वीकृत भइसकेपछि आई ४८५ फाइल गर्नका लागि भिसा करेन्ट नहुँदासम्म अमेरिकाभित्र आएर कुर्न पाउने सुविधा प्रदान गर्दै आएको थियो । अब उक्त सुविधा खारेज गरिएको छ ।

आई १३० स्वीकृत भइसकेपछि परिवारका सदस्यहरुका लागि भिसा करेन्ट हुन बर्षौ लाग्ने अवस्थामा फिलिपिनो भेट्रान र हैटीका नागरिकहरुले अमेरिकामा विशेष सुविधाका साथ प्रवेश गरेर काम गर्दै भिसा कुर्न पाउने प्रावधान रहेको थियो ।

एक कार्यकारी आदेश मार्फत हैटीका नागरिकको पारिवारिक मिलनका लागि यो सुविधा प्रदान गरिएको थियो भने दोश्रो विश्वयुद्धका फिलिपिनो भेट्रानका परिवारले पनि यो सुविधा पाउदै आएका थिए । अमेरिकामा परोलमा आइसकेका तर स्टाटस एड्जस्ट नभइसकेकाहरुले भने फर्म आई १३१ फाइल गर्नसक्ने जनाइएको छ ।

परोलका अरु श्रेणीहरु भने खारेज नगरिएको युएससीआईएसले स्पष्ट पारेको छ । शरणार्थी ट्राभल डकुमेन्ट, रिइन्ट्री परमिट, अमेरिकाभित्र रहेका व्यक्तिका लागि अमेरिकाबाहिर गएर आउनका लागि एड्भान्स परोल वा अमेरिकाबाहिर रहेका व्यक्तिले मानवीय कारणले अमेरिकामा आउनु परेमा आई १३१ आवेदन दिनसक्ने प्रावधान रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com