पब्लिक चार्जमा डिभी विजेता नेपालीको भिसा रिजेक्ट, दूतावास भन्छ – ‘स्पोन्सर चाहिन्न’


प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार

अमेरिकामा खाद्यान्न, स्वास्थ्य लगायतका सन्दर्भमा सरकारी सुविधा लिनसक्ने सम्भावना रहेको भन्दै काठमाडौं स्थीत अमेरिकी दूतावासले कैयन डिभी लोटरी विजेता नेपालीहरुको भिसा अस्वीकृत गरेको छ । खसोखासलाई प्राप्त कम्तीमा १ दर्जन डकुमेन्ट अनुशार डिभी लोटरी विजेताहरुलाई पब्लिक चार्जको सम्भावना रहेको भन्दै अन्तरवार्ताका क्रममा भिसा अस्वीकृत गरिएको छ ।

भिसा अस्वीकृत भएका कतिपयले अमेरिकी नागरिक वा ग्रिनकार्ड वाहकका तर्फबाट आई १३४ स्पोन्सर फर्म, ट्याक्स वा आम्दानीको कागजात र स्पोन्सर गर्न चाहनुको कारण सहितको पत्र पेश गर्दा समेत भिसा पाएका छैनन् । तर बुधबार काठमाडौंमा रहेको अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा गरेको भिसा च्याटमा भने डिभी लोटरी विजेतालाई अमेरिका जानका लागि अमेरिकाबाट स्पोन्सर नचाहिने बताएको छ ।

यस सन्दर्भमा डिभी विजेता तर पब्लिक चार्जको सम्भावना भन्दै अमेरिकाको भिसा नपाएका एकजनाले खसोखाससँग भने –‘अमेरिकी दूतावासले भिसा च्याटमा झुठ बोलेको छ । डिभी विजेता प्राय सबैलाई अमेरिकाबाट अमेरिकी नागरिक वा ग्रिनकार्ड वाहकका तर्फबाट स्पोन्सर फर्म आई १३४ पेश गर्न लगाइएको छ । कतिपयलाई सबै कागजात पेश गर्दा पनि भिसा दिइएको छैन । ’

भिसा च्याटमा एकजना प्रश्नकर्ताले आफूलाई दूतावासका तर्फबाट आई १३४ स्पोन्सर फर्म पेश गर्न भनिएको र आफूले तीनपटक नयाँ नयाँ र फरक स्पोन्सरका तर्फबाट त्यस्तो कागजात पेश गरेको बताएका छन् । तर भिसा च्याटमा दूतावासका तर्फबाट दिइएको जवाफमा भने अमेरिकाबाट स्पोन्सर नचाहिने बताइएको छ ।

साथै डिभी लोटरी जित्दैमा अमेरिकाको भिसा पाउने ग्यारेन्टी नहुने भन्दै दूतावासका तर्फबाट भनिएको छ – ‘डिभी विजेताले अमेरिकामा आफूले आफैलाई सपोर्ट गर्नसक्ने हुनुपर्छ र आर्थिक सहयताका लागि सरकारको भर पर्ने अवस्था आउनुहुँदैन । तपाईले रोजगार नपाउँदासम्म आर्थिक रुपमा सहयोग गर्नसक्ने स्पोन्सर भएमा यो मापदण्ड पूरा हुनसक्छ । तर स्पोन्सरकर्ता आवेदकले राम्रोसँग चिनेजानेको र स्पोन्सरले आवेदकलाई आर्थिक रुपमा सहयोग गर्नका लागि राम्रोसँग चिनेजानेको प्रमाणित गर्न सक्नुपर्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com