अमेरिकामा आउनु अघि आफ्नै देशको सुरक्षित स्थानमा बस्ने प्रयास नगर्नेलाई एसाइलम नदिइने


प्रकाशित मिति : श्रावण १२, २०७६ आईतबार

अबदेखि अमेरिका एसाइलम दावी गर्ने व्यक्ति अमेरिका आउनुभन्दा अगाडि उसको देशकै अर्को सुरक्षित स्थानमा बस्ने प्रयास गरे नगरेकोबारे जाँचबुझ गरिने भएको छ । युएससीआईएसका कार्यकारी निर्देशकले एसायलम अफिसरहरुलाई एसाइलम र आन्तरिक स्थानान्तरणबारेको मार्गनिर्देशन जारी गर्दै यसबारे जाँचबुझ गर्न निर्देशन दिएका हुन् ।

देशको एउटा स्थानमा खतरा भएमा अमेरिकी आउनु अगाडि अर्को सुरक्षित स्थानमा बस्ने प्रयास गरे नगरेकोबारे जाँचबुझ गर्ने नीति पहिले नै रहेपनि त्यसलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको हो । खासगरी सिमाक्षेत्रमा आएर एसाइलम गर्नेहरुका सन्दर्भमा अब एसाइलम अफिसरहरुले यसबारे क्रेडिबल फियर अन्तरवार्ताका क्रममा जाँचबुझ गर्ने भएका छन् ।

यदि कुनै व्यक्तिले उसको देशको एउटा भागमा खतरा रहेको कारण अर्को सुरक्षित स्थानमा बस्ने प्रयास नगरी अमेरिका आएको खण्डमा समेत उसको क्रेडिबल फियर अन्तरवार्ता नकारात्मक हुन सक्नेछ । त्यस्तो व्यक्तिलाई अमेरिकी अध्यागमन अदालत समक्ष पेश हुने मौका नदिई तीब्र गतिको देशनिकालामा राख्न सकिने भएको छ ।

ट्रम्प प्रशासनले अमेरिकामा एसाइलमका नीतिमा कडाई गरिरहँदा यो नयाँ मार्गनिर्देशन आएको हो । सरकारले कतिपय नयाँ नीतिहरु थपेको छ भने कतिपय कार्यान्वयनमा नआएका पुराना नीतिहरुलाई कडाईका साथ कार्यान्वयन गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com