नेपाली भिसामा शुल्कबृद्धि, अमेरिकनलाई १६० डलरमा ५ बर्षे भिसा


प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार

नेपालमा घुम्न जान चाहने विदेशीहरुका लागि भिजिटर भिसाको शुल्कमा बृद्धि गरिएको छ । न्युयोर्क स्थीत महाबाणिज्यदूतावासले दिएको जानकारी अनुशार १५ दिनदेखि ५ बर्षसम्मको भिसा शुल्कमा बृद्धि गरिएको हो ।

१५ दिनको नेपालको भिसा लिनका लागि पहिले २५ डलर शुल्क लाग्दै आएकोमा अब ३० डलर शुल्क लाग्ने भएको छ । त्यस्तै ३० दिनको भिसाका लागि पहिले ४० डलर शुल्क लाग्दै आएकोमा अबदेखि ५० डलर शुल्क लाग्नेछ । ९० दिनको भिसाका लागि १०० डलर शुल्क लाग्दै आएकोमा अब १२५ डलर शुल्क तिर्नुपर्नेछ ।

नेपाल सरकार र अमेरिकी सरकारबीच भएको सहमति अनुरुप न्युयोर्क लगायत विदेशमा रहेका नेपाली कन्सुलेटहरुले अमेरिकी नागरिकहरुका लागि ५ बर्षको भिसा समेत जारी गर्न सुरु गरेका छन् । त्यसका लागि १ सय ६० डलर शुल्क तोकिएको छ । हालैमात्र पाँचबर्षको भिसा लिएर ८ जनाको एउटा परिवार नेपाल गएको न्युयोर्क स्थीत महावाणिज्यदूतावासमा कार्यरत महावाणिज्यदूत पुष्पराज भट्टराईले जानकारी दिनुभयो ।

अहिलेसम्म विभिन्न कन्सुलेट र नेपालबाट ५ बर्षको मल्टिपल भिसा लिने अमेरिकीहरु ९० जना नाघिसकेका छन् । यो भिसामा जनवरीदेखि डिसेम्बरसम्मको १२ महिनाको अवधिमा अधिकतम ६ महिनामात्र नेपाल बस्न पाइन्छ । तर पटकपटक नेपाल जाँदा भने भिसा लगाइरहने झन्झट हुँदैन ।

विगतमा १० बर्षभन्दा कमकोलाई भिसा छुटको व्यवस्था रहेकोमा त्यस्तो भिसा छुट पनि हटाइएको र सबैले एउटै शुल्क तिर्नुपर्ने पुष्पराज भट्टराईले जानकारी दिनुभयो । १५ दिनदेखि ९० दिनसम्मको भिसा तुरुन्तै जारी गरिने भएपनि ५ बर्षको भिसाका लागि भने कम्तीमा २ साता लाग्ने र भिसा अस्वीकृत भएमा शुल्क फिर्ता नहुने उहाँले जानकारी दिनुभयो ।

पाँच बर्षको भिसाका लागि ६ महिना म्याद रहेको राहदानी, कम्तीमा १० हजार डलरको बैंक स्टेटमेन्ट , स्वास्थ्य बिमाको प्रमाणपत्र, भिसा शुल्क १६० डलरको को मनी अर्डर, नेपालमा रहदा सम्पर्क व्यक्ति वा संस्था र ठेगाना र नेपालमा रहँदा भ्रमण गर्ने स्थानहरुको बारेमा उल्लेख गर्नुपर्ने हुन्छ । उक्त भिसाका लागि आफूहरुले सबै विवरण नेपाल पठाएर स्वीकृत भएपछिमात्र भिसा जारी गर्ने महावाणिज्यदूत भट्टराईले बताउनुभयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com