विदेशमा बसेपनि नेपालको हितमा बोलौं

प्रकाशित मिति : फाल्गुन २, २०७३ सोमबार

-राधाकृष्ण देउजा

संसारको जुनसुकै देशमा जन्मिएका अनि बिभिन्न प्रयोजनको निम्ती संसारका बिभिन्न देशहरुमा पुगेका जोसुकैलाई पनि आफ्नो मातृभुमि प्रति माया र प्रेम हुन्छ । नेपालमा अवसर नपाएर, प्राप्त अवसरले चित्त नबुझेर वा अन्य कुनै कारणले गर्दा नेपाल बाहिर रहेका हामी नेपालीहरुमा देखिने नेपाल प्रतिको चासोले पनि मातृभूमीप्रतिको प्रेमको अटुटता रहने त्यही मानवीय स्वभावको बयान गर्छ ।

हामी देश बाहिर छौं तर पनि हामीलाई नेपालको हरेक क्षेत्रमा के भैरहेको छ भन्ने चासो छ , चिन्ता छ । अनि विज्ञान प्रविधिको वरदान स्वरूप प्राप्त सामाजिक संजालमा हामी हाम्रा चासो र चिन्ता व्यक्त गरिरहन्छौं । यो स्वाभाविक हो । तर भनिन्छ नि हरेक कुराहरु राम्रो देखिन्छ , बुझिन्छ जव यो एउटा सिमा र सभ्यतामा रहेर गरिन्छ । र त्यो आग्रहपूर्वाग्रह र स्वार्थबाट मुक्त हुन्छ ।

आफु जन्मिएको देशको माया गर्ने अधिकार सवैलाई हुन्छ । स्वदेश वा विदेश जहाँ रहेपनि आफ्नो जन्मभुमिप्रति लगाव रहने अनि त्यससँग सम्वन्धित विषयमा अभिव्यक्ति दिने विषय सामान्य र स्वाभाविक हुन्छन् । तर यदि हाम्रा अभिव्यक्तिहरु समस्याको पहिचान सदैव गर्ने तर समाधान कहिले नदेखाउने ढंगको हुन्छन् भने त्यसले चाहिँ हाम्रा चिन्ता र चासो देशको हितको सूत्राधार हैन हाम्रो आफ्नो राग अलापाईको एउटा तरिकाको रुपमा व्याख्या हुने खतरा हुन्छ । त्यसभन्दा पनि खतरा तव हुन्छ जव हामी हाम्रा अभिव्यक्तीहरुलाई लोकप्रियताको पुर्व आंकलनको आधारमा निर्धारण गर्ने गर्छौं ।
हामी सवैले गौरव गर्ने हाम्रो देश नेपाल यतिवेला संविधान कार्यन्वयनको चरणमा हुनुपर्नेमा सिद्धान्तत मित्र हुनुपर्ने छिमेकीको कुटिल खेल अनि आफ्नो देशलाई हराएर पनि छिमेकीलाई खेल जिताउन लागि परेका नेपालकै केही थान राजनीतिक दलको नेतृत्वमा रहेका पदलोलुप दासहरुको कारण संविधान संशोधनको चंगुलमा फसेको छ । यस्तो समयमा नेपाललाई माया गर्ने जोसुकैले पनि कार्यान्यवन भएर त्यसमा रहेका समस्याको पहिचान विनानै नेपालको निम्ति हैन अरु कसैको निम्ती संविधान संशोधन गर्न खोज्ने खेलको विपक्षमा आफुलाई खडा गर्न आवश्यक छ । त्यही ढंगको अभिव्यक्ती र अडानहरु सार्वजनिक हुन आवश्यक छ ।

तर के त्यस्तो भैरहेको छ ? के हामी त्यस्तो गरिरहेको छौं ? बरु हामी त संविधान संशोधनको विपक्षमा खडा हुँदा मधेश विरोधी हुने , अनि पक्षमा खडा हुँदा राष्ट्रियता विरोधी हुने चिन्तामा रुमलिने गरेका छौं । हिमाल पाहाड तराई कोहि छैनन् पराइ भन्ने मान्यतामा हुर्केका बढेका हामी कोही पनि भारतको हेपाह प्रवृतिसँग डटेर सिमा सुरक्षा गरिरहेका मधेशी दाजुभाई दिदि वहिनीले पहाड, हिमाल वा उपत्यकामा बस्ने कोही भन्दा कम अधिकार र अवसर पाउनु पर्छ भन्ने मान्दैनौ । र नेपालीको हितमा हुने कुनै प्रकारको संशोधन अथवा हेरफेरको विषयमा हामी कसैले नकारात्मक बन्ने प्रश्न आउदैन ।

यद्यपी तथ्य प्रमाणले त्यस्तो देखाउदैन भने केवल लोकप्रिय हुन देखेको बुझेको कुरामा मौनता साँध्ने वा सत्य भन्दा फरक ढंगले तोडमरोड गरेर अभिव्यक्ति पनि दिइनु हुदैन । यस विषयमा हामी के गरिरहेका छौं , आफैंले आत्मसमिक्षा गरौँ । के हामीले साँधेको मौनताले हामीले माया गर्छौं भनेर दावी गर्ने गरेको देश नेपाललाई हित गर्छ ? यसको अरु कसैसँग हैन हामीले आफैंसँग खोज्नु पर्छ ।

नेपाल देशलाई बिखन्डन गर्ने योजना सहित बिभिन्न कार्यक्रम गरेर हिड्ने सिके राउत अनि उस्तै प्रवृतिका केहि पात्रहरुले नेपालको राष्ट्रिय स्वाधिनता, अखण्डता र राष्ट्रिय एकता विरोधी गतिविधि गरिरहेका छन् । कुनै पनि देशमा बसेर त्यही देशको अखण्डतालाई चुनौती दिएर बिभाजन गर्न खोज्नेहरुमाथि उक्त देशले विद्धमान व्यवस्था अनुसार कडा कारवाही गर्छ र गर्नुपर्छ । त्यही सामान्य सत्य सिके राउतहरुको हकमा पनि लागु हुन्छ र हुनुपर्छ । तर के यस विषयमा हामीले यथोचित आवाज उठान गरेका छौं ? अनि कतिपयले सिके राउत जस्ता विखण्डनकारीहरुलाई र मधेशमा बस्ने लाखौँ इमान्दार , उच्च संस्कारी, मेहेनती राष्ट्रवादी नेपालीहरुलाई उस्तै नजरले हेर्ने र त्यसै अनुसार चित्रित गर्ने गरेका छन् । जुन अत्यन्त गलत हो ।

चुनौतिका साथ भन्न सकिन्छ कि नेपालको तराइ मधेशमा सिके राउत जस्ता मान्छे नगन्य संख्यामा छन् । त्यहाँ नेपाललाई कम्जोर पार्न चाहनेहरु भन्दा नेपाललाई वलियो बनाउन चाहने र त्यसको निम्ती आफ्नो रगत पसिना दिन तयार रहनेहरुको संख्या ज्यादा छ । राजेन्द्र महतो , हृदयेश त्रिपाठीजस्ता नेपालको अहित चाहनेहरुको मतियार बन्न तयार भएका पात्रहरुले तराइ मधेशमा व्यहोरेको सर्मनाक हार मधेशमा अखण्ड र वलियो नेपालका पक्षपातीहरुको वाहुल्य रहेको प्रमाण हो । त्यसैले नेपालको राष्ट्रियताको रक्षार्थ अभिव्यक्ती दिने नाममा सिंगो तराइ मधेशको राष्ट्रवादितामा प्रश्न उठाउने , अनि तराइ मधेशका जनताको पक्षमा उभिएर अभिव्यक्ति दिएँ भन्ने नाममा नेपालको हिमाल , तराइ , उपत्यकामा बस्ने आफ्नै दाजुभाइ भन्दा छिमेकी मुलुकको कुनै परदेशमा बसेर राजनीति गरिरहेको कुटिल राजनीतिज्ञलाई आफ्नो दुवै प्रवृति गलत हुन् । तसर्थ साँचो अर्थमा नेपाललाई माया गर्ने र नेपाल वलियो भएको देख्न चाहनेहरुले नेपालीनेपालीबीच तिक्तता बढाउने हैन हार्दिकता बढाउने ढंगको अभिव्यक्ति दिनु चाहिं नेपाल र नेपालीको हितमा हुने छ ।

नेपालको विकास , निर्माण , शान्ती सुरक्षाको सम्वन्धमा पनि हाम्रा अभिव्यक्ती र प्रतिवद्धताहरु वैज्ञानिक , समय सापेक्षिक र सकारात्मकता उन्मुख हुन आवश्यक छ । भुकम्पको पीडाबाट मुक्त भएर पुनर्निर्माणमा तीव्र गतिमा बढ्नु पर्ने नेपाल पुनर्निर्माण प्राधिकरण बनाउन समेत निक्कै पछाडी पर्यो , अनि त्यसको नेतृत्व छनोट र नेतृत्व परिवर्तनको चंगुलमा परेर त्यो कर्तव्यच्युत हुन पुगेको पनि हामी सवैले देखेकै छौं । तर के यस सम्वन्धमा हाम्रा आवाजहरु ठीक समयसमयमा ठीक ढंगले वुलन्द भए ? हामीले आफैंसंग सोध्नु पर्छ ।

भुकम्पको प्रभावले घरवार विहिन भएर राज्यले केहि गर्छ कि भनेर आशातित नजरले हेर्ने जनता प्रतिको दायीत्वमा सरकार निष्प्रभावी हुँदा त हाम्रो आवाज हुन पर्ने जति वलियो भएन नै , जे गर्नु पर्ने हो त्यो कामनै नभैरहेको अवस्थामा पुनर्निर्माण प्राधिकरणका कर्मचारी आफ्नो सेवा सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएर गाइजात्रा देखाए । हामीले यो असामयिक र निन्दनीय माग हो भनेर भन्न कन्जुस्याई गर्यौं । अहिले उज्यालो अभियानको नाममा विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ्ग अनि उर्जामंत्री जनार्दन शर्मा लोडसेडिंग मुक्त नेपाल बनाउन सकिदो रहेछ भन्ने आशाको किरण छरिरहेका छन् । हामी उनीहरुको तारिफमा शव्द त खर्च गरिरहेका छौं , तर यस भन्दा अगाडी उक्त जिम्मेवारीहरुमा रहेर लोडसेडिंग घटाएर जनतालाइ उज्यालो दिन हैन बढाएर आफ्नो स्वार्थमा लिप्त हुने कोको थिए तिनीहरुको भूमिकाको बारेमा छानविनको सशक्त आवाज उठाउन चुकिरहेका छौं ।

अहिले नेपाल प्रहरीको आइजीपी छनोटको चर्चा छ , अनि सुनिन्छ योग्यता, क्षमताको भरमा हैन शक्ति केन्द्रमा रहनेहरुसँगको क्षेत्रीय निकटता, राजनीतिक निकटता , अनि अनुचित सम्झौताको आडमा आइजीपी छनोट गराउन विचौलियाहरु लागिरहेका छन । के देशको शान्ती सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने प्रहरी प्रमुख छनोटको विषय आम वहसको विषय बन्नु पर्दैन ? के गलत ढंगले आइजीपी छान्न पाइदैन भन्ने आवाज बुलुन्द गरिनु पर्दैन ? राज्यका विकाश बजेट समयमा निकाश नहुने , अनि समयमा काम नभएकोले रकम फ्रिज हुने समस्या निरन्तर चलिरहेको छ । के हाम्रो ध्यान त्यसतर्फ जानु पर्दैन ? हाम्रा अभिव्यक्तीहरुमा नेपालको विकास हुनुपर्छ भन्ने त आइरहन्छन तर के यो यो कारणले विकाश हुन सकेको छैन , अव यसरी गर्नु पर्छ भन्ने भन्ने मार्ग निर्देशक अभिव्यक्ती आउन सक्दैन ?

उल्लेखित बाहेक थुप्रै कुराहरु छन् जहाँ हाम्रा आवाज अझै भनौ भने सकारात्मकता मिश्रित आवाजले तात्विक भिन्नता ल्याउन सक्छन् । सकारात्मक सोंच सहित आउने आग्रहपुर्वाग्रह रहित हाम्रा धारणाहरु कहिले काहीं मार्गदर्शक बन्न पनि सक्छ । त्यसैले आफ्नो मातृभुमिको विषयमा आफुलाई लागेको कुराहरु अभिव्यक्त गर्नुपर्छ तर अभिव्यक्तिहरु केवल चर्चामा आउन वा लोकप्रिय हुनको निम्ति मात्रै सार्वजनिक गर्नु हुदैन । अनावश्यक समयमा दिइने अभिव्यक्ती , असामयिक मौनता, वा लोकप्रियताको मापनको आधारमा संश्लेषण गरेर व्यक्त गरिने अभिव्यक्तीहरुले मातृभुमिको हितमा चिन्तित रहँदै क्रियाशील रहेको हाम्रा दावीहरुलाई कतै कम्जोर त पारिरहेको छैन ? हाम्रा अभिव्यक्तिहरु केवल गुनासाका पोका मात्रै हुने गरेका छन् वा समस्याको पहिचान अनि समाधानका उपाय सहितको प्याकेज हुने गरेको छ ?सवैले आफैंसँग उत्तर खोज्दा केहि फरक नपर्ला कि ?

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com