अमेरिकामा बस्ने नेपालीमा डिभोर्सको समस्या विकराल, दुरी र डलरले पारिवारिक बिखण्डन र दरार


प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार

– विष्णुप्रसाद पौडेल

न्युयाेर्क स्थित महाबाणिज्य दूतावासको कार्यालयमा एकजना ५९ वर्षीया महिला कागजातहरुको पोको बोकेर आइन् । उनलाई सहयोग गर्न हतारिएका वाणिज्यदूत कृसु क्षेत्री त्यतिबेला छक्क परे जब ती महिला आफ्नो कार्यालय आउनुको कारण थाहा पाए । उनी त श्रीमान्सँग डिभोर्सका लागि आएकी रहेछिन् ।

कार्यालयका कर्मचारीहरुको अनौपचारिक जिज्ञासामा उनी डिभोर्स नगरी नछाड्ने अडानमा देखिइन् । डिभोर्स गर्नाेस् या नगर्नाेस् भन्ने अधिकारै नहुने हुँदा कर्मचारीहरुले खुरुखुरु उनको काम अघि बढाए । अनौपचारिकै रुपमा अन्तिममा सोधे, ‘यो उमेरमा डिभोर्स किन आमा ?’ उनले भनिन्, ‘त्यस्तै प¥यो ।’

नेपालीको चिनारी थियो—परम्परागत बिहे गर्ने र आजीवन एउटै सम्बन्धमा रमाउने । संयुक्त परिवार, बाँचुञ्जेलसम्म उही दाम्पत्य नेपाली समाजका विशेषता मानिन्थे । स्वतन्त्रताको पर्यायजस्तो मानिने देश अमेरिकामा रहेका नेपाली दम्पत्तीबीच भने सम्बन्ध बिच्छेदको क्रम बढ्दो देखिन्छ । जसै नेपालीको संख्यामा बढोत्तरी भइरहेको छ, पारापाचुके पनि बढ्दैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महावाणिज्यदूतावास होस् या राजदूतावास अथवा कानुन व्यवसायीहरुको रेकर्डले पछिल्लो समय सम्बन्ध बिच्छेदको दर बढिरहेको देखाउँछ । संसारमा सबैभन्दा धेरै डिभोर्स हुने देशमा नेपाल दर्ज भइसकेको भने छैन । सबैभन्दा धेरै अर्थात ८७ प्रतिशत दम्पतीको डिभोर्स हुने भन्दै लक्जम्बर्ग पहिलो नम्बरमा रहेको अस्ट्रेलियन पारिवारिक लयर्सहरुको संस्थाको अनुसन्धानले देखाएको छ । स्पेनी ६५ प्रतिशत जोडीको डिभोर्स हुने गरेको उक्त अनुसन्धानमा उल्लेख छ ।

 

डिभोर्स घटेको छैन,  बढेको बढ्यै छ 

अधिकार संस्थाकी प्रोग्राम डाइरेक्टर नर्वदा क्षेत्री भन्छिन्, ‘नेपालीहरुको डिभोर्स घटेको छैन । बढेको बढ्यै छ । पहिला त मान्छेलाई कहाँ भन्ने पनि थाहा थिएन । अहिले त यहाँ भन्ने ठाउँ छ भनेर पनि डिभोर्स भएको हुनसक्छ । जनसंख्या बढेको कारण पनि डिभोर्स बढेको देखिन्छ ।’

नर्वदा आफ्नो कार्यालयमा महिनामा २ वटा सम्बन्ध बिच्छेदका केसहरु आइरहने गरेको सुनाउँछिन् । कृसु पनि त्यस्तै तथ्यांक सुनाउँछन् । नर्वदा भन्छिन्, ‘हामीलाई सियाटलबाट कल आउँछ, बाल्टिमोरबाट, कनेक्टिकेटबाट, क्यालिफोर्नियाबाट जताततैबाट फोन आउँछ डिभोर्सको केस लिएर ।’

नर्वदा क्षेत्री

उनको कार्यालयमा कहिलेकाहिँ हप्तामै २ वटासम्म केस आएका उदाहरण छन् । कृसु भन्छन्, ‘कन्सुलर अफिस खोलेयता अप्रत्यासित रुपमा बढेको सम्बन्ध बिच्छेककै मुद्दा हो । झन्झन् बढेको बढ्यै छ । सन् २०१५ अगस्टमा कन्सुलेट अफिस खोलियो । २०१६ मा १५ माभन्दा बढ्यो ।’

अमेरिका त स्वतन्त्रता भएको मुलुक । यहाँको कानुनको सदुपयोग गर्दै स्वतन्त्र हुन चाहेको पनि हुन सक्छ भन्ने कृसुको विचार छ । उनको भनाइमा श्रीमान्बाट श्रीमती पीडित भएका धेरै केस छन् । नेपालमा घरेलु हिंसाको कुसंस्सार भएको हुँदा त्यसको झल्को अमेरिकामा पनि देखिएको उनी बताउँछन् । नर्वदा भन्छिन्, ‘नेपालकै बानी नसुधारेर पनि डिभोर्स भएको छ ।’ श्रीमतीमाथि हातपातै गर्ने श्रीमान्हरु पनि थुप्रै भेटिन्छन् । बच्चाको लागि भनेर कतिले सहेर बसेका पनि छन् । थुप्रैलाई त म सम्झाएर पठाएकी छु भन्छिन् नर्वदा । ‘मैले मिलाएको परिवार पनि थुप्रै छन् । पिट्न थालेको छ र अत्याचार गरेको छ भनेमात्रै म मिलाउँदिन,’ उनले  भनिन् ।

अमेरिकामा आएपछि अमेरिकन हावा

नर्वदाका अनुभवमा पहिला अमेरिका आउने भनेपछि आँखा चिम्लेर आउँछन् । आइसकेपछि भनेजस्तो हुँदैन । अनि डिभोर्स हुन्छ । धेरैजसो त केटीहरु नै फसेको देखिन्छ । योङहरुको पनि डिभोर्स भइरहेको छ । ४५ भन्दा कम २५ भन्दा माथिका जोडीको डिभोर्स धेरै भइरहेको छ ।

‘अमेरिका आउने भनेपछि केटाले केटीको बारेमा पनि सोच्दैन । केटाले केटीको बारेमा सोच्दैन । अमेरिका आउने बहाना भएपछि पुग्ने भनेर आउँछन्,’ उनी भन्छिन्, ‘यहाँ आएपछि एकअर्काको खोट देख्छन् । नेपालमा जस्तो बसेर काम नगरी खान मिल्दैन । कसैलाई यहाँ आउनेबित्तिकै यहाँको हावा लाग्छ ।’

कसैको श्रीमान् अमेरिका आउँछन् । कसैको श्रीमती आउँछन् । कागज बनाउनका लागि प्रयास गर्छन् ।

प्रयास गर्दागर्दै विफल हुन थाल्दा दुरी बढ्छ । कसैको आर्थिक कारणले पनि डिभोर्स भइरहेको छ । फलानाले कमायो । हाम्रो कमाइ भएको छैन भन्ने हुन्छ । डिभोर्सको सबैभन्दा ठूलो कारणचाहिँ आर्थिक कारणै देखिन्छ । आप्रबासी हुनुको कारण । समझदारी नहुनु अर्काे मुख्य कारण हो । एकअर्काले समय दिन नसक्दा पनि डिभोर्स बढेको छ । ‘बाहिरको मान्छे राम्रो देखेपछि घरको मान्छे नराम्रो देख्नेहरु पनि होलान्,’ नर्वदा भन्छिन् ।

बालबच्चा भएकाहरुको डिभोर्स हुन लाग्दा नर्वदाहरुलाई नरमाइलो लाग्छ । उनी सम्झाउने कोसिस गर्छिन् । डिभोर्स भइसकेपछि छोरी मान्छेको जीवन कठिन हुने उनको विचार छ । ‘बच्चा भएका नभएका दुवैथरीलाई पहिला त हामी सम्झाउँछौं । बच्चा भएको मान्छे त सकेसम्म नछुट्टिदियोस् भन्ने लाग्छ । बच्चा भएको मान्छेलाई साह्रै गाह्रो हुन्छ । आमा बाबुको झगडाले नानीहरुलाई मानसिक रुपमा असर परेको देखेकी पनि छु,’ उनी भन्छिन्, ‘घरभाडा तिर्न सकेनन् भने पनि उठाएर खोजेर तिर्दिने गरेकी छु । केटी मान्छेहरुलाई साह्रै गाह्रो हुन्छ डिभोर्सको बेला ।’

कागजात मिलाउनकै लागि  सम्बन्ध बिच्छेद !

सम्बन्ध बिच्छेद बढ्यो भनेर सकारात्मक रुपमा हेर्न पनि सकिन्छ भन्छन् कृसु । अन्यायमा बस्नुभन्दा स्वतन्त्र जीवन बाँच्नु राम्रो भन्ने अर्थमा सम्बन्ध बिच्छेद सकारात्मक पनि छ ।

कागजात मिलाउनकै लागि कतिले सम्बन्ध बिच्छेद गरेको भन्ने पनि छ । तर वाणिज्यदूत कृसु भने अहिले त्यस्तो न्यून छ भन्छन् । उनको भनाइमा अहिलेको सम्बन्ध बिच्छेद पारिवारिक बिखण्डन र दरार नै हो । ‘श्रीमान् श्रीमती देश बाहिर हुँदा पनि सम्बन्ध बिच्छेद भएको पनि देखिन्छ । कसैको श्रीमती अमेरिका छन्, श्रीमान नेपालमा । कसैको श्रीमान् अमेरिकामा छन्, श्रीमती नेपालमा,’ उनी भन्छन्, ‘भौतिक सुखले मात्रै नपुगेरै सम्बन्ध बिच्छेद गरेका उदाहरण पनि छन् । एकजना अमेरिकामा छ । अर्काे नेपालमा छ । सुखसुविधा भए पनि साथै नभएपछि सम्बन्ध बिच्छेद गरेका छन् ।’

नेपालीको पहिचान पारिवारिक मेल र एकता हो । विवाह भनेको सहमतिमै चलाउने हो । तर एक वर्ष पर हुनेबित्तिकै सम्बन्ध बिच्छेद हुँदाखेरी नेपाली संस्कृति बदलिएको देखिन्छ । यसमा दुईकदम पछाडि सरेर भए पनि समझदारीको खोजी भएदियो भने सम्बन्ध बिच्छेद हुन पाउँदैन भन्ने कृसु ठान्छन् ।

कृसु क्षेत्री

सम्बन्ध बिच्छेदका लागि महावाणिज्यदूताबास पुग्नेहरुलाई मिल्नोस् भन्ने अधिकार त्यहाँका कर्मचारीलाई हुँदैन । अनौपचारिकै रुपमा भए पनि सम्झाउने प्रयास भने गरिन्छ । ‘हामीलाई मिल्नोस् भन्ने अधिकार छैन । सही गर्नुअघि मिल्नका लागि अझै प्रयास गर्नु न भन्छु अनौपचारिक रुपमा । तर हाम्रो अनौपचारिक प्रयास सफल हुँदैन,’ कृसु भन्छन्, ‘सबै ढोकाहरु बन्द गरेर सम्बन्ध बिच्छेदको ढोकामा आइपुग्नुभएको हुन्छ ।’

नेपाली नागरिकले अमेरिकाका कार्यालयमा सम्बन्ध बिच्छेद गर्न पाउँदैनन् । त्यसैले अमेरिकी ग्रिनकार्ड भएका नेपालीहरु नै वाणिज्यदूताबास पुग्छन् । कृसु आफ्नो कार्यालयमा अनेक दृश्य देखिएको रोचक अनुभव पनि सुनाउँछन् । भन्छन्, ‘सम्बन्ध बिच्छेद गर्न आएकामध्ये श्रीमान् नबसिन्जेल श्रीमती बसेकी छैनन् । श्रीमतीले चिया नखाइन्जेल श्रीमान्ले नखाने । खाऊ न भन्ने । त्यस्ता दृश्य पनि देखिन्छन् ।’
डिभोर्स कसैको नियन्त्रणमा छैन । अमेरिकामा त डिभोर्सको कानुन सजिलो छ । त्यसैले पनि डिभोर्स बढेको हुनुपर्छ भन्ने ठान्छिन् नर्वदा ।

तीनबर्षमा ११५ जोडीको डिभोर्स

डिभोर्सका लागि महावाणिज्यदूताबास बाहेक सिधै दूताबासमा पनि पुग्नेहरु हुन्छन् । अमेरिकाका लागि नेपालको राजदूताबास वासिङटनमै छ । त्यो दूताबासका अधिकारीहरुले नेपाली जोडीको डिभोर्सको संख्या उपलब्ध गराउन इन्कार गरेको छ । यता वाणिज्यदूताबासबाट भने प्राप्त तथ्यांक अनुसार २०७३ सालमा २३, ७४ मा ३२ र ७५ मा ६० जोडीको डिभोर्स भएको छ ।

अस्ट्रेलियन पारिवारिक लयर्सहरुको संस्थाको अनुसन्धानले जनाएअनुसार सबैभन्दा कम डिभोर्स हुने जोडी धार्मिक हिसाबले हिन्दु हुन् । यो धर्मालम्बीका दम्पतीमध्ये १ प्रतिशतको मात्रै डिभोर्स हुने गरेको उक्त संस्थाले उल्लेख गरेको छ । डिभोर्स धेरै हुने देशमा तेस्रोमा फ्रान्स, चौथोमा रसिया र पाँचौमा अमेरिका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com