कागजपत्रविहिनलाई अदालती सुनुवाईबिनै देशनिकाला गर्ने नीति आजदेखि


प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अफिसरहरुले अब कागजपत्रविहिनहरुलाई अध्यागमन न्यायाधिससमक्ष पेश नगरिकनै अमेरिकाको कुनै पनि स्थानबाट पक्राउ गरेर देशनिकाला गर्न सक्ने भएका छन् । ट्रम्प प्रशासनले सोमबार जारी गरेको नयाँ नीति अनुशार अब अमेरिकाबाट कागजपत्रविहिनहरुलाई तीब्र गतिमा देशनिकाला गर्न सकिने भएको हो ।

नयाँ नीतिले तीब्र गतिको देशनिकालाको प्रकृयालाई आक्रमक रुपमा बिस्तार गरेको छ । जस अन्तरगत अब न्यायायिक पुनरावलोकन समेत आवश्यक नपर्ने भएको छ । नयाँ नीति मंगलबारदेखि लागु भएको छ ।

पूरानो नीति अन्तरगत अध्यागमन अधिकारीहरुले सिमाक्षेत्रको एकसय माइलभित्र पक्राउ परेका र अमेरिका प्रवेश गरेको दुईसाता नपुगेका कागजपत्रविहिनहरुलाई तीब्र गतिको देशनिकालको प्रकृयामा राख्न सकिने प्रावधान थियो । त्यस्तै समुन्द्रबाट अमेरिका आएकाहरु  अमेरिका प्रवेश गरेको दुईबर्ष नपुगेको खण्डमा तीब्र गतिको देशनिकालामा राख्नसक्ने प्रावधान थियो ।

 

नयाँ नीतिको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

तर मंगलबारदेखि लागु हुने नयाँ नीति अनुशार भने अमेरिकाको जुनसुकै स्थानमा पक्राउ परेका र अमेरिका आएको दुईबर्ष भइसकेको प्रमाणित नसक्ने जोसुकै कागजपत्रविहिनहरुलाई पनि पक्राउ गरेर तीब्र गतिको देशनिकालामा राख्न सकिने भएको छ । नयाँ नीतिपछि अमेरिका आएको दुईबर्ष पूरा नभएका जोसुकै कागजपत्रविहिनहरु पनि तीब्र गतिको देशनिकालामा पर्नसक्ने भएका छन् ।

नयाँ देशनिकालाको नीति यसै महिना ट्रम्प प्रशासनले कागजपत्रविहिन आप्रवासीहरुका सन्दर्भमा ल्याएको दोश्रो नीति हो । गत सातामात्र ट्रम्प प्रशासनले एसाइलमको नीतिमा कडाई गर्दै सिमाक्षेत्रमा आएर एसाइलम गर्नेहरुले त्योभन्दा अगाडि बाटोमा पर्ने देशमा एसाइलम गरेर अस्वीकृत भएको हुनुपर्ने नयाँ मापदण्ड तय गरेको थियो ।

नयाँ नीतिपछि अमेरिकी अध्यागमनले दशौं हजार आप्रवासीहरुलाई अदालती सुनुवाईबिना नै देशनिकाला गर्नसक्ने भएपछि आप्रवासीहरुमा त्रास फैलिएको छ ।

१८ पृष्ठ लामो नयाँ नीति मंगलबार फेडरल रजिस्टरमा प्रकाशित भएको छ । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com