डिभी लोटरी खतरनाक रहेको युएससीआईएसका कार्यकारी निर्देशकको भनाई, डिभीमार्फत अमेरिका आउनेमा नेपाली विश्वमै दोश्रो
प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार
युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीलाई डिभी लोटरी भिसा एकदमै खतरनाक रहेको बताएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गरेर ट्वीट गर्दै राष्ट्रपति ट्रम्प र आफूले डिभी लोटरी अन्त्य भएको देख्न चाहेको बताएका छन् ।
डिभी लोटरीमा जस्तो खतरनाक छिद्र भएको नभई मेरिटमा आधारित अध्यागमन प्रणालीको समय भएको उनले बताएका छन् । सिरियामा कार्यरत एकजना आईसीस स्नाइपर अमेरिकी डिभी लोटरी विजेता रहेको खुलासा भएपछि कुसिनेलीले यस्तो ट्वीट गरेका हुन् ।

सन् १९७६ को फरबरी २७ मा काजकिस्तानमा जन्मिएका रसियन मारातोभिच आसाइनोभ सन् १९९९ को फरबरी २७ मा डिभी लोटरीमार्फत अमेरिका छिरेको खुलासा भएको छ । त्यसपछि सन् २००६ को सेप्टेम्बर १ मा अमेरिकी नागरिकता प्राप्त गरेको जनाइएको छ ।
कुसिनेलीले ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले डिभी लोटरी अन्त्य गर्न चाहेको भन्दै तपाईहरु नि ? भन्दै राय समेत मागेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि डिभी लोटरीको बिरुद्ध अभिव्यक्ति दिदै आएका छन् । उनले डिभी लोटरीमार्फत अमेरिका आउनेहरु खराबमध्येको खराब रहेको समेत बताएका थिए ।

डिभी लोटरीमार्फत अमेरिका आउने नेपालीहरु अग्रपंक्तिमा रहेका छन् । आर्थिक बर्ष सन् २०१८ मा डिभी लोटरीमार्फत अमेरिका आउनेमा नेपालीहरु विश्वमै दोश्रो नम्बरमा रहेका थिए । यो बर्ष ३३०७ जना नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आएका थिए भने पहिलो नम्बरमा इजिप्सियनहरु ३४६६ जना रहेका थिए ।






